परीक्षा रद्द भएपछि विद्यार्थीको प्रदर्शन

मुख्य समाचार शिक्षा

रौतहट, १५ चैत, जारी एसइर्ईको दुई विषयको परीक्षा रद्द भएपछि रौतहटका विद्यार्थीले विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । बिहीबार दिएको अनिवार्य विज्ञान विषयको परीक्षा रद्द भएको जानकारी पाएपछि आक्रोशित बनेका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

दुवै दिनको प्रश्नपत्र बाहिरिएको भन्दै परीक्षा रद्द भएको सूचना आएपछि आक्रोशित विद्यार्थीले सदरमुकाम गौर र चन्द्रपुरमा प्रदर्शन गरे । चन्द्रपुरमा करिब सयजना विद्यार्थीले सडकमा आगो बालेर केही बेर प्रदर्शन गरेका छन् भने गौरमा परीक्षार्थीले सडकमा नै प्रदर्शन गरेका छन् । परीक्षा रद्द भएको सूचना आउनासाथ केन्द्रबाट मूल सडकमा पुगेका परीक्षार्थीहरुले स्वतःस्फूर्त रुपमा ठाउँ ठाउँमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शन गर्दै विद्यार्थीहरुले प्रश्नपत्र आउट गर्नेमाथि छानबिन गरी कडा कारबाहीको माग गरेका छन् । विद्यार्थीहरुले प्रदेश नम्बर दुईको परीक्षाको सम्पूर्ण खर्च प्रश्नपत्र बाहिर ल्याउनेसित असुल गर्नुपर्ने माग पनि गरेका छन् ।

प्रदेश दुईका विद्यार्थीको भविष्यमाथि खेलबाड भएको भन्दै विद्यार्थीहरुले सरकारविरुद्ध पनि नाराबाजी गरेका छन् ।