लेप्टोस्पाइरोसिसलाई बेवास्ता नगरौं – डा. शेरबहादुर पुन

अन्तर्वार्ता मुख्य समाचार विषेश समाचार

जनावरबाट मानिसमा सर्ने रोगमध्येकाे एक हाे लेप्टो स्पाइरोसिस । जो लिप्टोस्पाइरा नामक जीवाणुसँग सम्बन्धित छ । यसले मानिस र पशु दुवैलाई प्रभावित गर्छ । यो रोग विश्वव्यापी रुपमा रहेको विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओ. ले जनाएको छ । संक्रमित पशुको पिसाबबाट सर्ने यो रोगका बिरामी वर्षेनी बढ्दैछन् । सरकार र सर्वसाधारण दुवैले यो रोगलाई कमै मात्र चासो दिने गरेका छन् । यसै सन्दर्भमा यहाँ प्रस्तुत छ शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका रिसर्च संयोजक एवं सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग आजको खबरले गरेको कुराकानी ।

लेप्टो स्पाइरोसिस कस्तो खालको रोग हो र नेपालमा यसको अवस्थामा कस्तो पाउनु भएकाे छ ?
संक्रमित पशुको पिसाबमा भएको ब्याक्टेरियाबाट यो रोग मानिसमा सर्छ । यसको लक्षण अन्य रोग जस्तैः टाइफाइड, डेंग्यु, फ्लुको लक्षणसँग मिल्दोजुल्दो हुने भएकाले धेरै चिकित्सक समेतलाई यसलाई छुट्याउन गाह्रो परिरहेको हुन्छ । समयमै उपचार नपाएर जटिलतातर्फ गएमा यो रोगले मिर्गौला, कलेजो, स्नायुप्रणालीमा असर गर्छ । साथै मृत्यु हुने सभ्भावना समेत हुन्छ । यो रोगको बारेमा धेरै कुरा नहुने भएकाले र चलाइरहेको कतिपय एन्टीबायोटिक औषधिले यसलाई कभर पनि गरेको हुनाले लेप्टो स्पाइरोसिसको बारेमा धेरैले त्यति कुरा पनि गरेको छैन र त्यति बहसमा ल्याएको विषयमा पनि देख्दिन म । तर यो आवश्यक छ । केही वर्ष अघि ललितपुरस्थित पाटन अस्पतालले गरेको एक अध्ययनले नेपालमा ज्वरो आउनुको प्रमुख कारण मध्ये लेप्टो स्पाइरोसिस चौथौ नम्बरमा परेको देखाएको हुनाले हामीले यसलाई नजर अन्दाज गर्नु हुँदैन ।

यो रोग मानिसमा कसरी सर्छ ?
संक्रमित पशुको त्यसमा पनि विशेषगरी मुसाबाट यो रोग सर्ने गरेको छ । यद्यपि हामीले घरमा पाल्ने गरेको विभिन्न गाईवस्तु, त्यसको कारणले पनि संक्रमित पिसाबबाट सर्ने गरेको छ । संक्रमित मुसाको पिसाब, फोहर पानी, हिलोमैलो अनि यो मोटोमा रहन्छ । फेरी यो महिनौसम्म पनि रहन्छ । त्यसमा खाली खुट्टा हिंड्दा या कुनै कारणवश नाक, आँखा, मुखमा पग्यो त्यस्तै काटेको या चोटपटक लागेको ठाउँमा पग्यो भने यो रोग सर्छ ।

माटो र पानीमा यो जिवाणु महिनौसम्म रहन्छ भने, यसको हिसाबले सबैभन्दा बढी जोखिम क्षेत्र कुन हो ?
बाढी प्रभावित क्षेत्रमा सबैभन्दा बढी लेप्टो स्पाइरोसिस देखिने जोखिम हुन्छ । यो नेपालमा मात्र होइन श्रीलंका, बंगलादेश लगायत देशमा बाढी आउँदा लेप्टो स्पाइरोसिस हुने जोखिम अत्यधिक हुने गर्छ ।

यो रोग मानिसबाट मानिसमा सर्ने सम्भावना कतिको हुन्छ ?
मानिसबाट मानिसमा नसर्ने भन्ने होइन तर एकदमै कम मात्र सर्छ । साथै यो खेतीको समयमा बढी सर्ने सम्भावना पनि हुन्छ ।

यो रोग कतिको जोखिमपूर्ण छ ?
जोखिम सबैलाई हुँदैन तर बाढी प्रभावित क्षेत्रमा भने यसको जोखिम हुन्छ । त्यसपछि कृषक तथा पशुपालन गर्नेलाई बढी यसको जोखिम छ । मैले कृषकलाई विशेष जोडें किनभने धान रोप्ने र काट्ने समयमा मुसाले अत्यधिक प्रभाव पार्छ । मुसाहरु त्यो समयमा धेरै सक्रिय पनि हुने भएकाले धान रोप्दा र काट्दा खाली खुट्टा हुने तथा हातखुट्टा काटेको पनि हुन सक्छ । त्यो बाट पनि सर्ने सम्भावना निकै हुन्छ ।

यो रोगले दीर्घरोगीलाई बढी दु:ख दिन्छ या दिंदैन ?
त्यस्तो हुँदैन, यो रोग जो कोहीलाई पनि हुन सक्छ । दीर्घरोगी तथा बालबालिका कमजोर हुन्छ, त्यसैले पनि उनीहरुलाई अलि बढी दुख दिन्छ, त्यो आफ्नो ठाउँमा छदैछ । तर सामान्यता जो कोहीलाई पनि उत्तिकै जोखिम हुन्छ ।

डा. पुन, यसको मृत्युदर कतिको छ ?
यसको मृत्युदर अरु रोगको जस्तो एकदमै धेरै त छैन । तर ५ देखि ३० प्रतिशतसम्म यसको मृत्युदर छ । यसले मिर्गौलालाई फेलियर नै गराउँछ पनि । मिर्गौला खराब हुनुमा लेप्टो स्पाइरोसिसको कारण पनि हुनसक्छ । नेपालमा यसको अध्ययन नभएकाले पनि कतिजनाको यसकै कारण मिर्गौलाको डायलासिस गराइरहेका छन् भन्ने कुरा हामी भन्न सक्दैनौ । तर यसले मिर्गौला, कलेजो तथा स्नायु प्रणालीमा भने असर चाहीं गर्छ ।

लेप्टो स्पाइरोसिसको संक्रमण भएको कति दिनमा यसको लक्षण देखापर्न थाल्छ ?
संक्रमण भएको २ देखि ४ हप्तामा नै यसको लक्षण देखिन थाल्छ । संक्रमण भएको दुई दिनपछिको कुनै पनि समयमा ज्वरो आउने, आँखा रातो हुने, शरीर दुख्ने हुन्छ, शरीर चिलाउने ( बिबिरा पनि आउन सक्छ), लिन्फ ग्रन्थी सुन्निने हुन्छ भने कहिले काही यो आफैं निको भएर पनि जान्छ । दोस्रो पटक पनि संक्रमण भयो भने यसले कडा वा भनौं जटिल रुप लिन सक्छ । जसले मिर्गौला, कलेजोलाई असर गर्छ ।

यो रोग दोहोरिने सम्भावना कत्तिको हुन्छ ?
रोग पूर्ण रुपमा निको भएन भने दोहोरिएर आउने सम्भावना धेरै हुन्छ । कुनै कारणवशले त्यो निको भएजस्तो देखियो तर उपचार गरिएन भने दोहोरिएर आउँछ ।

डा. पुन, ध्यान नदिने रोग मध्ये लेप्टो स्पाइरोसिस पनि पर्छ, किन यो रोगलाई त्यति वास्ता नगरिएको हो ? यसलाई कसरी बुझ्नु भएको छ ?
वास्ता नगरिएको भन्दा पनि ध्यानै नदिएको हो । नेपालमा हरेक ज्वरोलाई टाइफाइडसँग मात्रै जोडेर हेर्ने चलन छ । किनभने यो सरुवा रोगले पनि नसर्ने रोगमा गएर परिणत भइदिन्छ । यदी त्यो हुने हो भने महङ्गो उपचार हुने भो ।

यसको उपचार सरल वा जटिल के छ ?
यसको उपचार विधि एकदम साधारण छ । जसरी स्क्रब टाइफसलाई हामीले सामान्य तरिकाले उपचार गर्छौ, त्यही औषधि (डक्सीसाइक्लीन) चलाउने हो । त्यो औषधि पूर्ण रुपमा डोज पुर्याएर खाने हो भने यो रोग मजाले निको हुन्छ ।

यो रोग लाग्नबाट कसरी बच्न सकिन्छ ?
कृषिमा काम गर्नुहुन्छ भने खेतबारीमा काम गर्नुभन्दा पहिले गम बुट लगाउनु पर्यो, हातमा पञ्जा लगाउनुपर्छ । यो त्यति प्राक्टिकल त म देख्दिन तर यो पनि बच्न सकिने एक उपाय हो । त्यस्तै बाढी प्रभावित क्षेत्रका मानिसहरु अलि चनाखो भएर रहनुपर्छ । घर वरिपरि फोहोर पानी भए प्रयोग नगर्ने, पानी उमालेर खाने, बाहिर नाङ्गो खुट्टा हिड्नु भएन । फोहोर हिलो माटो सकभर प्रयोग नगर्ने अलि सजग चाहिं हुनुपर्छ ।