काठमाडौँमा ‘अन्तर्राष्ट्रिय व्यापार मेला’ सुरु

आजको बजार मुख्य समाचार

काठमाडौँ, १४ चैत, नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबारबाट काठमाडौँमा सुरु भएको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मेलाको एक विशेष समारोहका बीच आज समुद्घाटन गरे ।

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार/वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह—आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा मेला आयोजना गर्दै आएको छ ।

समुद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले स्वदेशी उद्योगलाई विशेष प्रोत्साहन दिने बताए । सरकारले स्वदेशी, विदेशी दुवै उद्योग र लगानीलाई आकर्षण गर्नेमा कुनै कसर बाँकी राख्ने छैन, त्यसमा पनि स्वदेशी उद्योगलाई त झनै प्रोत्सान दिन्छ, त्यसमा तपाईंहरु ढुक्क हुनुहोस्–प्रधानमन्त्री ओलीले भने ।

‘मुलुकभित्र उद्योग व्यवसायको विकास विस्तार हुनुपर्छ, समृद्धि ल्याउनु पर्छ भन्नेमा म दृढ छु, प्रतिवद्ध छु र सरकार सोहीअनुसार अगाडि बढेको छ’, प्रधानमन्त्री ओलीले भने । उनले सरकारको आर्थिक विकासको प्रयासमा महासंघको नेतृत्वबाट पाएको सहयोगको प्रशंसा पनि गरे । समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सफल पार्ने मुख्य नेतृत्वकर्ता समेत निजी क्षेत्र नै भएको उनको दाबी थियो । भोलिदेखि आयोजना हुने लगानी सम्मेलनलाई सिंगो राष्ट्र नै मिलेर सफल पार्न पनि उनले आग्रह गरे ।

त्यसअघि स्वागत मन्तव्य राख्दै महासंघकी अध्यक्ष भवानी राणाले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मुलुकभित्र आर्थिक क्रियाकलाप बढाउन एक महत्वपूर्ण माध्यम बन्दै आएको बताइन् । अध्यक्ष राणाले नेपाल लगानी सम्मेलनको पूर्व सन्ध्यामा यो कार्यक्रमको शुभारम्भ भएको बताइन् । विश्व सामुन्ने नेपाललाई लगानीका लागि मुख्य आकर्षक गन्तव्यको रूपमा पहिचान गराई व्यापार तथा लगानी आकर्षण गर्ने मुख्य उद्देश्यले यो मेला प्रत्येक वर्ष यही समयमा आयोजना गर्दै आएका र यस वर्ष लगानी सम्मेलन पनि यही अवसरमा पर्न गएकाले मेलाको महत्व अझ बढ्न गएको पनि उनको भनाई थियो ।