गोली हानी भारतीय नागरिकको हत्या

मुख्य समाचार विषेश समाचार

रुपन्देही, १४ चैत, बुटवलमा बुधबार राती अज्ञात समूहको गोली प्रहारबाट एक जनाको हत्या भएको छ । बुटवल ४ मैनाबगर स्थित अटो भिलेजमा कार्यरत ४० वर्षीय मिस्त्री फिरोज खानको गोली प्रहारबाट हत्या भएको हो । खानलाई टाउको र छातीमा गोली प्रहार गरिएको छ । उनी भारतीय नागरिक रहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिल बहादुर मल्ले बताए । उनका अनुसार राती साँढे ८ बजेतिर गोली प्रहार भएको हो ।

गोली लागेर घाइते भएका खाँनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो । रगताम्य अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएका खानको उपचारको क्रममा मृत्यू भएको डिएसपी मल्लले बताए । गोली कसले चलायो र भन्ने बारे केही खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खानको शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । सामान्य मिस्त्री काम गर्दै आएका खानलाई गोली प्रहारबाट हत्या भएपछि मैनाबगर क्षेत्रमा त्रास पैदा भएको छ ।

केहि दिनअघि मात्रै रुपन्देही देवदहमा तरुण दलका नगरसदस्यको कुटपिट गरी हत्या गरिएको थियो । लगातार हत्याका घटना हुन थालेपछि रुपन्देहीमा शान्ति सुरक्षामा माथि नै प्रश्न उठेको छ ।