विप्लव समूहमाथि प्रहरीको विशेष निगरानी

मुख्य समाचार राजनीति

बाँके, १३ चैत, सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता बिरुद्ध बाँके प्रहरीले विशेष निगरानी बढाएको छ । उक्त समूहले जनप्रतिनिधि, सरकारी कर्मचारी, शिक्षक तथा ब्यापारीसँग चन्दा असुली गरिरहेको जनगुनासो बढिरहेका बेला प्रहरीले निगरानी बढाएको हो ।

सरकारले विप्लव समुहको नेकपामाथि प्रतिबन्ध लगाएपछि सुरक्षा निगरानी कडा पारेको एसपी पौडेलले बताए । विभिन्न ठाउँमा प्रहरी परिचालन भएर विप्लव समुहका कार्यकर्ताको निगरानी बढाईरहेको उनले जनाए ।

निगरानी गर्ने क्रममा प्रहरीले उक्त समूहका ४ जना कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) अरुण पौडेलकाअनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० निवासी चित्रबहादुर बिक, हुम्ला घर भई हाल कोहलपुर–११ मा बस्दै आएका दानबहादुर फडेरा, राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम निवासी सन्तोष बस्नेत र बैजनाथ गाउँपालिका–१ चिसापानी निवासी कृष्णबहादुर शाही पक्राउ परेका हुन् । पक्राउ परेका विरुद्ध केहीलाई मुद्दा चलाइएको र केहीको विषयमा अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।