पिके–देम्बा पहिलो हाफ म्याराथन हुने

खेलकुद मुख्य समाचार

ओखलढुङ्गा, १३ चैत, पिके-देम्बा पहिलो हाफ म्याराथन प्रतियोगितामा धावकहरुले आवेदन दिने क्रम जारी छ । आयोजक ओखलढुंगा टुरिजम डेभलपमेन्ट कमिटीका प्रथम उपाध्यक्ष वाङ्डा शेर्पाले आइतबारसम्ममा ३५ जनाले आवेदन भरेको जानकारी दिए । सहभागिताका लागि यही चैत्र १६ गतेसम्म आवेदन दिन सकिने बताइएको छ ।

‘रन फर कज’ भन्ने मूल नाराका साथ आगामी चैत्र २१ गतेदेखि प्रतियोगिता सुरु हुँदैछ । पुरुष धावकको तुलनामा महिला धावकहरु कम आएको भन्दै इच्छुकहरुले चाडै सम्पर्क गर्न आग्रह समेत गरे ।

सोलुखुम्बुको पिके तथा ओखलढुंगाको देम्बा क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्दै खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको शेर्पाले बताए ।

ओखलढुंगा टुरिजम डेभलपमेन्ट कमिटीको आयोजनामा नेपाल पर्यटन बोर्ड, खिजीदेम्बा गाउँपालिकाको प्रायोजन तथा टान र एनएमएको सहप्रायोजनमा हुने २१ किमीको हाफ म्याराथन सोलुखुम्बुको पिकेबाट सुरु भई ओलखढुंगाको खिजीफलाटेमा टुगिंने छ ।

महिला तथा पुरुष खुल्ला हाफ म्याराथनमा महिला र पुरुष दुवै तर्फ पहिलो हुने धावकले रु ५० हजार प्रमाण पत्र, दोस्रोले रु ४० हजार, तेस्रोले रु ३० हजार, चौथोले रु ८ हजार, पाँचौले रु ५ हजार, छैठौंले ३ हजार र सातौं हुने धावकले १ हजार पाउने आयोजकले जनाएको छ ।