पाथीभरा क्षेत्रका व्यापारीहरुले मदिरा हटाउन थाले

आजको बजार मुख्य समाचार

ताप्लेजुङ, १२ चैत, सर्वपक्षीय बैठकले पूर्वको पवित्र तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिराको प्रयोग र विक्रीवितरण बन्द गर्ने निर्णय गरेसँगै पाथीभरा क्षेत्रका व्यवसायीले आफूसँग रहेको मौज्जाद मदिरा धमाधम थोक विक्रेतालाई फिर्ता गर्न थालेका छन् ।

सोमबार माथिल्लो फेदीका व्यवसायीले मदिरा फिर्ता गरेको भोलिपल्ट मंगलबार काफ्ले पार्टी र भालुगौंडेका व्यवसायीले पनि फिर्ता गरेका छन् । पाथीभरा क्षेत्र होटल व्यवसायी संघका अध्यक्ष इन्द्रनारायण भट्टराईले पाथीभरा क्षेत्रलाई मदिरा निशेधित क्षेत्र बनाउने गरी भएको सर्बपक्षीय बैठकको स्वागत र सम्मान गर्दै यो क्षेत्रका व्यवसायीले आफूहरुसँग रहेको मौज्जाद मदिरा खरिद गरिएका थोक पसललाई नै फिर्ता गरेको जानकारी दिए । उनले पाथीभरा क्षेत्रको महत्व र गरिमा बढाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको संयोजनमा भएको बैठकबाट भएको निर्णय स्वागतयोग्य भएको बताए ।

प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले पाथीभरा क्षेत्रका व्यवसायीले निर्णयको सम्मान गर्दै आफूसँग भएको मौज्जाद मदिरा सम्बन्धित थोक बिक्रेतालाई फिर्ता गरेर पाथीभरा क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाउन सहयोगी भूमिका निर्वाह गरेको बताए । उनले पाथीभरा क्षेत्रमा मदिराको प्रयोग र विक्रीवितरण बारे सुरक्षा संयन्त्रबाट सुक्ष्म निगरानी भइरहेको र त्यहाँबाट व्यवसायी समेतले यो अभियानमा साथ दिएकोमा प्रसन्नता व्यक्त गरे । ‘मदिरा निषेधित क्षेत्र पाथीभरा बनाउन सबैको सहयोग र रचनात्मक भूमिका आवश्यक र अनिवार्य छ’ प्रजिअ भण्डारीले भने ।

गएको फागुुन २६ गते प्रजिअ भण्डारीको अध्यक्षतामा बसेको बैठकले चैत १ गतेबाट लागु हुनेगरी पाथीभरा क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाउने निर्णय गर्दै निषेध गरिएको क्षेत्रमा मदिराजन्य पर्दाथ विक्री गरेको पाईए प्रशासनले नियन्त्रणमा लिने बताएको थियो ।