विप्लव नेकपाका तीन कार्यकर्तामाथि राज्यद्रोहको मुद्दा

मुख्य समाचार राजनीति

तनहुँ, १२ चैत, नेत्रविक्रम चन्द समूहका तीन जना कार्यकर्तालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा व्यास नगरपालिका–६ शिशाघाटका सुनिल कुमाल, व्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार र जुम्लाका अमर बुढा रहेका छन् ।

पक्राउ परेकामध्ये कुमाल अखिल क्रान्तिकारी लमजुङका अध्यक्ष, सुनार दलित मोर्चा तनहुँको अध्यक्ष र बुढा जुम्लाका जिल्ला सदस्य हुन् । बुढालाई बन्दीपुर गाउँपालिका–५ याम्पाबाट, सुनार र कुमाललाई उनकै घरबाट सोमबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिए ।

पक्राउ परेकाहरुबाट चन्दा रसिद बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीन जना विरुद्ध नै मङ्गलबार जिल्ला अदालत तनहुँबाट राज्यद्रोहको मुद्दा दर्ता गरी म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले फागुन २८ गते चन्द समूहका जिल्ला सदस्य प्रेम शाहीलाई बन्दीपुर गाउँपालिका–१ बाट पक्राउ गरेको थियो । प्रहरीले विप्लव समूहका नेता तथा कार्यकताहरुलाई केही दिनदेखि निगरानी बढाएको छ ।