साना बालबालिकालाई किन हुन्छ निमाेनिया ? कसरी जोगाउने ?

मुख्य समाचार विषेश समाचार स्वास्थ्य

काठमाडौँ, १२ चैत, बालबालिकामा निमाेनिया हुने क्रम बढ्दै गएकाे छ । फोक्सोमा हुने संक्रमण नै निमोनियो हो । निमोनिया हुँदा फोक्सोको कोशिका सुन्निन्छ र श्वासप्रश्वासमा बाधा पुग्छ । रोग प्रतिरोधात्मक क्षमता र तौल कम भएका तथा कुपोषण भएका बालबालिका यसको जोखिममा पर्ने परोपकार प्रसुति तथा रोग अस्पतालकी प्रमुख कन्सल्टेन्ट बालरोग विशेषज्ञ डा. कल्पना उपाध्याय सुवेदीले बताइन् ।

‘जन्मने बित्तिकै शिशुमा पनि निमाेनिया हुन्छ । पाँच वर्ष मुनिका बालबालिका यसकाे बढी जाेखिममा हुन्छन् । मृत्यु हुने सम्भावना दुई वर्ष मुनिका बालबालिकामा हुन्छ’ , डा‍. सुवेदीले भनिन् ।

नेपालमा गतवर्ष निमोनियाका कारण साढे ३ लाख बढी बालबालिका बिरामी भएकाे बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएकाे छ । जसमध्ये करीब ५ हजार बढीमा कडा खालको निमोनिया देखिएको शाखाकाे तथ्यांक छ ।

थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको शिशु सघन उपचार कक्ष एनआइसीयूमा मासिक २ सय ५० जनासम्म शिशु भर्ना हुन्छन् । जसमध्ये अधिकांशमा रगत संक्रमणको समस्या पाइएको छ । अस्पतालले निमोनियालाई पनि यसै अन्तर्गत राख्ने गरेको डा. सुवेदीले बताइन् ।

पाँच वर्ष मुनिका बालबालिकाकाे मृत्युमध्ये १६ प्रतिशत निमाेनियाका कारण हुने गरेकाे विश्व स्वास्थ्य संगठनकाे तथ्यांक छ । विश्वव्यापी रुपमा निमाेनियाका कारण ९ लाख २० हजार बढी बालबालिकाकाे मृत्यु हुन्छ । ज्वरो आउनु, खोकी लाग्नु, नाक बन्द हुनु, छिटछिटो सास फेर्नु, सास फेर्दा घ्यारघ्यार हुनु, वाकवाकी लाग्नु निमाेनियाकाे लक्षण हुन्छ ।

बाल स्वास्थ्य तथा खोप सेवा शाखाका अनुसार पाँच वर्ष मुनिका १८ लाख ८१ हजार बालबालिका रुघाखोकीबाट प्रभावित र २ प्रतिशतलाई श्वासप्रश्वास सम्बन्धी समस्या छ । खाेकीलाई हेलचक्रयाइ नगर्न डा. उपाध्यायकाे सुझाव छ ।

‘बच्चालाई ताताे बनाएर राख्ने, भीडभाडमा जान नदिने, धूलाे धूँवाबाट बचाउने, पर्याप्त मात्रामा ताताे झाेलिलाे पदार्थ खुवाउने’ , डा. सुवेदीले भनिन, ‘ बिरामी भयाे भन्दै खानेकुरा नराेक्ने किनभने यसाे गरेमा कुपाेषण हुने सम्भावना बढी हुन्छ । त्यसैले पाेषिलाे खानेकुरामा जाेड दिने र सरसफाईमा ध्यान दिने ।’ चिसाे माैसममा निमाेनियाकाे समस्या झनै बढेर जाने उनी बताउछिन ।

सरकारले निमोनिय निवारणका लागि जनचेतनामूलक कार्यक्रमदेखि पीसीभी खोपसम्मको अभियान चलाएको छ । सन् २०१५ मा मात्रै विश्वमा निमोनियाका कारण ९ लाख बढी बालबालिकाको मृत्यु भएको थियो ।