किरात, सुन्दास र गिरीलाई नइ अन्तर्राष्ट्रिय पुरस्कार

मुख्य समाचार साहित्य

रमेश हतुवाली, काठमाडौं, ११ चैत, नइ प्रकाशनले अन्तर्राष्ट्रिय क्षेत्रका तीनजना महानुभावहरूलाई २०७५ सालको नइ अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनले दुई लाख रुपियाँ राशिको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ संयुक्त रूपमा भारतका १०१ वर्षीय श्री हायमनदास राई किरात तथा ८६ वर्षीय डा. लक्खीदेवी सुन्दासलाई समर्पण गर्ने निर्णय गरेको छ ।

नेपाली वाङमयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्याए बापत उनीहरूलाई सो पुरस्कार समर्पण गरिने भएको हो । यो पुरस्कार नेपाली–गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ ।

यसैगरी नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारका लागि सृजनात्मक र सङ्गठनात्मक रूपमा निरन्तर समर्पित रहँदै विशिष्ट योगदानका निम्ति अमेरिकाका गोविन्द गिरी प्रेरणालाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । यो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ । नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १००औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंमा ती पुरस्कारहरु प्रदान गरिने नइ प्रकाशनका सदस्य सचिव नरेन्द्र राज प्रसाईले आजको खवरलाई जानकारी दिए ।

Loading...