कमिशन माग्ने जिशिसअलाई नेविसंघले दल्यो कालोमोसो

मुख्य समाचार शिक्षा

सिलगढी, १० चैत, डोटीको जिल्ला शिक्षा समन्वय विकास इकाईका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी अनन्तकुमार पौड्याललाई कालोमोसो दलिएको छ । विद्यालय भवन निर्माणको बजेटमा कमिशन मागेको भन्दै नेपाल विद्यार्थी संघका नेता, कार्यकर्ताको एक समूहले पौडेललाई कालोमोसो दलेको जनाएको छ ।

कालोमोसो दलिसकेपछि एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल विद्यार्थी संघका आमन्त्रित केन्द्रीय सदस्य विजयराज ओझाले विद्यालय भवन निर्माण, मर्मत तथा शौचालय निर्माणमा कमिशन माग गरेको लगायतका विभिन्न ९ वटा आरोप लगाएका छन् । ओझाकै नेतृत्वमा गएको टोलीले कालोमोसो लगाएको हो ।

विज्ञप्तिमा योजनाहरुमा आफन्तको माध्यमबाट १० प्रतिशत कमिशन माग गरेको, विद्यालय व्यवस्थापन समितिको अधिकारक्षेत्र भित्र रहेको करार शिक्षक नियुक्ति आफू मातहतमा ल्याएर ४ महिनासम्मको तलब लिँदै शिक्षक नियूक्ति गर्ने गरेको, कमिशन रकम उठाउन श्रीमती चन्द्रमाया कोइरालालाई र छोरा अरूण पौडेलको नाममा रहेको बैंकखाता विद्यालयका प्रधानाध्यापकहरुलाई बाँडेको लगायतका आरोपमा कालोमोसो दलेको नेविसंघका आमन्त्रित केन्द्रीय सदस्य ओझाले बताए ।