नेपालमा लेप्टो स्पाइरोसिसको संक्रमण बढ्दै, न नागरिक सचेत छन्, न सरकार !

मुख्य समाचार स्वास्थ्य

काठमाडौँ, १० चैत, जनावरबाट मानिसमा सर्ने रोगमध्ये एक हाे, लेप्टो स्पाइरोसिस । याे लिप्टोस्पाइरा नामक जीवाणुसँग सम्बन्धित छ । यसले मानिस र पशु दुवैलाई प्रभावित गर्छ । विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओ का अनुसार यसको उपस्थिति विश्वभर छ । संक्रमित पशुको पिसाबबाट सर्ने यो रोगका बिरामी वर्षेनी बढ्दैछ । तर रोगको बारेमा बहस तथा छलफल कमै मात्रामा हुने गर्छ ।

ज्वरो आउने बित्तिकै अधिकांश चिकित्सकले लेप्टो स्पाइरोसिसका बिरामीलाई टाइफाइड, स्क्रब टाइफसको औषधि चलाउने भएकाले यो रोग त्यति चर्चामा आउँदैन । तर यसलाई बहसमा ल्याएर सर्वसाधारणलाई सचेत गराउन आवश्यक रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च संयोजक एवं सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन बताउँछन् ।

नेपालमा वर्षेनी साढे आठ लाख मानिस कुनै न कुनै ज्वरोबाट प्रभावित हुन्छन् । यसलाई बेवास्ता गरिएकाे रोग भनी विश्व स्वास्थ्य संगठनले पनि यसको विस्तृत अध्ययन तथा अनुसन्धान एवम् अभिलेखीकरण गर्नुपर्ने औंल्याएको छ । यो रोग डेंग्यु, टाइफाइड र भाइरल हेपाटाइटिसको जस्तै समान लक्षण हुने भएकाले यसलाई पहिचान गर्न गाह्रो हुने पुनले बताए । उनी भन्छन्, ”याे राेगकाे लक्षण डेंग्यु टाइफाइडाकाे जस्तै हुन्छ । त्यसैले यसकाे पहिचान गर्न गार्हाे छ ।”

डा. पुन यो रोगलाई बहसमा ल्याई सर्वसाधारणलाई सचेत गराउनु आवश्यक भएको बताउँछन् । उनी भन्छन् “यसको बारेमा धेरै कुरा नगर्ने भएकाले तथा चलाई रहेको कतिपय एन्टिबायोटिक औषधिले पनि यसलाई कभर गर्ने भएकाले धेरैले यसलाई बहसमा ल्याएको विषय देख्दिन ।” नेपालमा हरेक ज्वरोलाई टाइफाइडसँग जोडेर हेर्ने चलन रहेको उनकाे भनाई छ ।

नेपालमा लेप्टो स्पाइरोसिसका बिरामी वर्षेनी बढ्दै गएपनि सरकारले भने यसलाई आफ्नो प्राथमिकता राखेको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसलाई जुनोटिक डिजिज कन्ट्रोल अन्तर्गत राखेर हेर्ने गरेकाे छ ।

उष्ण हावापानी भएको क्षेत्रमा यो रोगले दु:ख दिने गर्छ । अत्यधिक वर्षा र बाढी हुने क्षेत्रमा यसले प्रकोपको रुप लिन सक्ने विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओ ले जनाएको छ । त्यसैले विशेषगरी बाढी प्रभावित क्षेत्रका मानिस यसको जोखिममा हुन्छन् । डा. पुनका अनुसार बाढी प्रभावित क्षेत्रमा यसको जोखिम बढी हुने भएकाले त्यहाँका स्थानीय सजग रहन आवश्यक छ ।

केही मानिसहरु आफ्नो पेशागत तथा उनीहरुले अपनाउने जीवनशैली र वातावरणले यस रोगको जोखिममा पर्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कृषक, पशुपालक, पशु चिकित्सक, मासु पसलमा काम गर्ने व्यक्ति यसको जोखिममा छन् । महिलाभन्दा पुरुष यस रोगको जोखिममा छन् । यो रोग प्राय: ग्रामीण क्षेत्रमा देखिने गरे पनि संक्रमित मुसाका कारण यो रोग हाल शहरी क्षेत्रमा समेत देखापर्न थालेको डब्लु.एच.ओ ले जनाएको छ । यो नेपालमा मात्र नभई श्रीलंका, बंगलादेश लगायत देशमा बाढी आउँदा लेप्टो स्पाइरोसिस हुने जोखिम अत्यधिक हुन्छ ।

समयमा उपचार नपाए यो रोगले घातक रुप लिने सम्भावना पनि छ । “यदि यो रोगलाई बेवास्ता गरियो र समयमा उपचार गरिएन भने ५ देखि १५ प्रतिशत रोग जटिल हुन जान्छ”, डा. पुनले भने,“यो जटिलता उन्मुख भए यसले मिर्गौला, कलेजो, स्नायुप्रणालीमा असर गर्छ । साथै मृत्यु हुने सम्भावना समेत हुन्छ ।”

डब्लु.एच.ओ का अनुसार यस रोगको मृत्युदर ३० प्रतिशतसम्म छ । यसले विशेष गरी मिर्गौलालाई फेल नै गराउने डा. पुनले बताए । मिर्गौलाका साथै यसले कलेजो तथा स्नायु प्रणालीमा समेत असर गर्छ ।

लक्षणहरु
सामान्यता यसको लक्षण ५ देखि १४ दिनको बीचमा देखापर्छ तर कहिले २ देखि ३० दिनको बीचमा पनि यसको लक्षण देखा पर्नसक्छ । यो एक सामान्य फ्लु भएपनि यसले कहिलेकाँही घातक रुप लिन सक्छ । समयमा उपचार नपाए यो रोगले घातक रुप लिने सम्भावना ५ देखि १५ प्रतिशत सम्म हुन्छ ।
– ज्वरो आउनु
– आँखा रातो हुनु
– शरीर दुख्ने
– शरीर चिलाउने (बिबिरा पनि आउन सक्छ)
– लिन्फ ग्रन्थी सुन्निने

संक्रमित पशुको पिसाब, संक्रमित पशु तथा दुषित वातावरणको सम्पर्कबाट टाढा रहन सके यसको जोखिम कम हुने डा. पुनको सुझाव छ । कृषिमा काम गर्ने कृषकहरुले काम गर्नु पहिले गमबुट, पञ्जा तथा मास्क लगाउनु उचित हुन्छ । विशेष गरी बाढी प्रभावित क्षेत्रका मानिसहरु अलि चनाखो भएर रहनुपर्छ । घरबाहिर नाङ्गो खुट्टाले नहिंड्ने, फोहोर पानीको प्रयोग नगर्ने, पानी उमालेर पिउने, दुषित पानी, माटो तथा खेतीको काम गरिसकेपछि साबुन पानीले राम्रोसँग हात धुनु पर्छ । साथै जनावरको सरसफाईमा पनि ध्यान दिन आवश्यक छ ।