विप्लव समूहलाई नियन्त्रण गर्न राज्य लाग्यो, ब्याकगेयर छैन : प्रधानमन्त्री

मुख्य समाचार राजनीति विषेश समाचार

विप्लव समूह भनेर चिनिने एउटा समूह छ । धेरैपल्ट हामीले आग्रह गर्यौ, सरकारले धेरै पल्ट आग्रह गर्यो, मैले पनि धेरै पल्ट आग्रह गरेँ । लोकतन्त्रको उच्चतम अभ्यास निर्वाचन हुन दिन्न भन्ने, देशमा बम पड्काउने, निर्दोष मान्छे मार्ने, बेसरोकारका मान्छे मार्ने, कहीं महिला अंगभंग छन्, कहीँ बालबालिका अंगभंग छन्, कही उम्मेदवारको खुट्टो काटिएको छ, कहीँ मार्ने प्रयास भएका छन्, चन्दा हैन चन्दाका नाममा लुटपाट गरिएको छ, धम्क्याएर, तर्साएर । यस्तो नगर्नकालागि धेरै पल्ट भनियो तर भएन । त्यो समूह कतै दर्ता छैन, जससको ठेगाना छैन, ठेगाना छैन त्यसको, केही पनि छैन । त्यस समूहका आपराधिक कृयाकलाप मात्र छन्, तिनीहरु अपराधिक छन् । उनीहरुलाई अपराध अन्त्य गर र विध्वंश अन्त्य गर भनेर प्रतिबन्ध लगाइयो । मान्छे मार्न पाइदैन, विध्वंश मच्चाउन पाइदैन । विध्वंश निषेध भन्यो ।

कतिलाई लाग्या होला यो त लोकतान्त्रिक भएन भन्ने । अनि बम पड्काउन पाउने, लुट्न पाउने, जनप्रतिनिधि मार्ने, सभामा सुन्न आएका जसको सरोकारै छैन उनीहरुलाई मार्ने, जन्तीबस जलाउने त्यो हुन्छ लोकतन्त्र ? चन्दाका नाममा पैसा उठाउने, लुट्ने हुन्छ लोकतन्त्रमा ? त्यो गर्न पाइदैन भन्दा लोकतन्त्र खतरामा पर्यो, धरापमा पर्यो भने । सम्झाउनु पथ्र्यो भने । सबैलाई थाहा हुनु पर्ने ।

श्रीकृष्णलाई साह्रै आउँथ्यो सम्झाउनलाई । अर्जुनलाई एकछिन् सम्झाउँदा गीता बन्यो । तर त्यति सम्झाउन आउने, त्यति ज्ञानको भण्डार भएका कृष्णले देखिनेगरी औलामा चक्र लिएर, घुमाएर हिड्थे । सम्झाउँदा भएन भने चक्र प्रयोग गर्थे । सम्झाउँदा मात्रै पार लाग्ने भए किन चक्र बोक्थे कृष्णले ? रामसँग सम्झाउने असाधारण सामथ्र्य थियो तर धनु र वाण देखिने गरी बोकेर हिड्थे ।
सम्झाउँदा हुँदैन भने राज्यले कानुन बमोजिम नियन्त्रण गर्छ । थाहा पाउनु पर्छ राज्य नियन्त्रण गर्न लाग्यो ब्याकगेयर छैन । नियन्त्रण गर्छ गर्छ । यो आतंक, यो असंवैधानिक र गैरकॉननी क्रियाकार्यको नियन्त्रण हुन्छ ।

विद्युत उत्पादन गर्न नपाइने, विद्युत गृहमा पड्काउने, नेपालीले टेलिफोन चलाउन नपाउने टावर उडाइ दिने, गाडी चढेर हिड्न नपाउने, गाडी पड्काइ दिने, बाटो बनाउन नपाउने, केही गर्न नपाउने, कसैले धन कमाउन नपाउने किन भने लुटिहाल्ने । यस्तो चल्दैन ।

कतिलाई चिन्ता लाग्या होला कतै फर्किने ठाउँ नदिने हो कि भनेर । हतियार बुझाउन समय दिएको छ । त्यो समयभित्र लुरुलुरु बोकेर बुझाउँन आए हुन्छ । लौ म बुझाउन आएँ भने हुन्छ । बुझाउँदैन भने कसरी हतियार लिनुपर्छ सरकारलाई थाहा छ । सरकारले लिन्छ । मान्छेहरुले भन्ने गरेका छन् दुई तिहाइको सरकार । दुई तिहाईको दुरुपयोग हुन दिँइदैन । दुईतिहाईको सरकार हो यसले जसरी पनि नियन्त्रण गर्छ । जथाभावी हुन दिँदैन संविधान र कानुनअनुसार संरक्षण हुन्छ ।

यससम्बन्धमा कुनै भ्रम राख्न आवश्यक छैन । लोकतान्त्रिक विधि, आचरणअनुसार सबै चल्नुपर्छ, लोकतान्त्रिक मूल्यमान्यतामा देश चल्नु पर्छ । यसमा सरकार दृढ छ ।

अब देशमा यस्तै प्रकारको अशान्तिको श्रृङ्खला जारी रहलाकि भन्ने कल्पना छ भने त्यो नराखे हुन्छ । कसैले अशान्ति मच्चाउने सोचेको छ भने पनि त्यो नगरे हुन्छ । किन भने हामी विकासका काममा अघि बढ्यौँ हामी । विकासका काममा बाधा हुन दिइने छैन । त्यसका निम्ति हामीले पाँचदिन पछि अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दैछौँ ।
(२०७५ चैत १० गते संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनको एक अंश)

Loading...