बाबुको क्रिया बसेका छोराले दिए एसईई

मुख्य समाचार शिक्षा

रामेछाप, १० चैत, जिल्लाको दोरम्बा गाउँपालिका ६ लखनपुरको कालिका नमुना माध्यमिक विद्यालयमा अध्ययन गर्ने १६ वर्षीय छात्र राम गौतम क्रिया बसेकै अवस्थामा एसईईमा सामेल भएका छन् । गौतमका बुबा गणेश गौतमको यही चैत ८ गते निधन भएको थियो ।

बुबाको निधनको शोकमा बसेका गौतमले पीडाका बीच नै परीक्षा दिएका छन् । एक मात्र छोरा रुपमा रहेका रहेका उनका ८ दिदीबहिनी छन् । उनले परीक्षा दिन जानु पर्ने विद्यालयको परीक्षा केन्द्र सुनापति गाउँपालिका २ दिमीपोखरीको कृष्ण वर्णेश्वर माध्यमिक विद्यालय मानपुर भए पनि उनको विशेष कारणले गर्दा उनले पढदै आएकै विद्यालयको केन्द्रमा परीक्षा दिने व्यवस्था मिलाइएको विद्यालयले जनाएको छ । उनलाई आफ्नै विद्यालयमा परीक्षा दिने प्रवन्ध जिल्ला प्रशासन र शिक्षा विकास तथा समन्वय इकाइको समेत अनुमतिमा परीक्षा दिने प्रबन्ध मिलाइएको छ ।

उनको दुःखको अवस्थालाई हुनेसम्म केही सहज बनाउन प्रयत्न गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिए । परीक्षा केन्द्रभन्दा बाहिर बसेर परीक्षा दिने कानुन प्रावधान नरहेकाले गौतमलाई पायक पर्ने स्थानमा केन्द्र कायम गराई परीक्षामा सामेल गराइएको प्रजिअ शर्माले बताए ।

जिल्लाका ९२ माध्यमिक विद्यालयका लागि २१ वटा परीक्षा केन्द्रबाट पहिलो दिन छात्रा १ हजार ९ सय १३, छात्र १ हजार ६ सय १३ जना गरी कुल ३ हजार २६ जना सहभागि भएका छन् भने ४२ जना छात्रा, ३५ जना छात्र अनुपस्थित रहेको समन्वय इकाइ रामेछापले जनाएको छ ।