खोटाङमा एसइई दिने १ सय ८ परीक्षार्थी अनुपस्थित

मुख्य समाचार शिक्षा

खोटाङ, १० चैत, खोटाङमा एसइईका १०८ विद्यार्थी परीक्षामा अनुपस्थित भएका छन् । आईतबारबाट सुरु भएको परीक्षाको पहिलो दिन रेगुलरतर्फ ७६ जना र एक्जाम्टेडतर्फ ३२ परीक्षार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्राविधिक सहायक तीर्थबहादुर विश्वकर्माले बताए ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा रेगुलरतर्फ ३ हजार ८ सय ३ जना र एक्जाम्टेडतर्फ १ सय ३० विद्यार्थीले एसईई परीक्षाका लागि फर्म भरेका थिए । एसइई परीक्षामा जिल्लामा प्राविधिक शिक्षातर्फका ९३ विद्यार्थी पनि सामेल भएका छन् । रेगुलरतर्फका कुल विद्यार्थीमध्ये पञ्च मावि दिक्तेलका कृषि प्राविधिकतर्फका ४५ जना र सिमपानी माविका कम्प्यूटर प्राविधिकतर्फका ४८ जना विद्यार्थी एसइई परीक्षामा सामेल भएका हुन् ।

एसइई दिँदै दृष्टिबिहिन छात्रा
खोटाङबाट दुई दृष्टिबिहिन छात्राले एसइई परीक्षामा सहभागीता जनाएका छन् । पञ्च मावि दिक्तेलबाट दृष्टिबिहिन छात्रा यामकुमारी विक र कोपिला मगरले एसइई परीक्षा दिएकी हुन् । उनीहरुसँगै पञ्च माविकै अपांग खगेन्द्र राईले पनि एसइई परीक्षा दिइरहेको शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयले जनाएको छ । उनीहरु सहयोगीमार्फत परीक्षामा सामेल भएका हुन् ।