विप्लव समूहका ९ नेता, कार्यकर्ता पक्राउ: सरकारलाई ठूलो सफलता

मुख्य समाचार राजनीति विषेश समाचार

काठमाडौँ, ९ चैत, सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मध्यकमाण्ड इन्चार्जसहितका ९ नेता तथा कार्यकर्तालाई पक्राउ गर्नु ठूलो सफलता भएको बताएको छ । प्रहरीको क्षमता र सफलतालाई ठूलो कुरा मान्नुपर्ने गृहमन्त्रालयका सह-सचिव एवम् प्रवक्ता रामकृष्ण सुवेदीले आजको खबरलाई बताए ।

प्रवक्ता सुवेदीले भने, ‘उनीहरूलाई कहाँबाट, कसरी पक्राउ गरियो र कहाँ लगियो भन्ने भन्दा पनि सुरक्षाकर्मीको सफलता ठूलो कुरा हो ।’ उनले पक्राउ परेका सबै जनालाई काठमाडौँ ल्याउँदै गरेको जानकारी दिँदै ललितपुरको ठेंचो लागेको भन्ने विषयमा भने अनभिज्ञता प्रकट गरे । उनले भने, ‘प्रहरीले अनुसन्धानकोलागि कहाँ लान्छ, के गर्छ त्यो उनीहरूकै कुरा हो, जहाँ सहज हुन्छ त्यहीं लगेर अनुसन्धान गर्छ ।’

काठमाडौँबाट गएको प्रहरी ब्यूरो र काभ्रे प्रहरीको संयुक्त प्रयासमा उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पार्टीको तेस्रो दर्जाका नेता मानिएका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का रहेका छन् ।