हजुर झुक्किनु भयो कि म ? — डिल्लीराज अर्याल

मुख्य समाचार विचार

तीन बीस भन्दा बढी भयो मैले होश सम्हालेको । त्यो भन्दा केही कम भयो होला मैले राजनीतिका सिद्धान्त र वाद सुन्न थालेको तर व्यवहारमा कुनै त्यस्तो चमत्कार कतै कहिल्यै देखिन । अरूले देखे नदेखेको मलाई थाहा भएन तर आशाका भन्दा निराशाका कुरा धेरैका मुखबाट निस्कने गरेको अनुभव मलाई छ । भन्न भन्छन् ‘आशावादी बन्नुपर्छ ।’ बन्न सक्छु तर त्यसका लागि पनि त आधार चाहिन्छ नि । विना आधार विश्वास गर्न न विज्ञानले मान्छ न ज्ञानले अनि ?

यही परिप्रेक्ष्यमा मैले साम्यावादका व्याख्या गर्ने, समाजवादबाट अघि बढिसकेका, प्रगतिवादी भनिनेहरू गहना र कपडाले सिँगारिएर, छाँटिएर हिडेको देखेँ। त्यही गहनाको फूर्ति देखेँ, धाक देखेँ । सादा हुनै नसक्ने, श्रम गर्नै नसक्ने, पैदल अलिकति पनि चल्नै नसक्ने अवस्था आएको देखेँ र लेखेँ-कतिलाई त सुनाएँ पनि ।

मैले हजुरलाई देखेँ । हजुरका राम्रा र ठूला गहना देखेँ । एउटै गहना दुईदुई तीनतीनवटा पनि देखेँ । आहा कति राम्रा गहना ! कति ठूला गहना ! कति धेरै गहना ! हजुर जति भाग्यमानी त संसारमै कोही नहोला कि जस्तो लाग्यो । मलाई हजुरसँग बोल्न सङ्कोच लागेर आयो । आफू यस्ता गहना देख्न नपाएको मान्छे ! गहना चिन्न नसकेको मान्छे ! नचिनेकैले यति राम्रा गहना पनि नलाउने गरेको मान्छे ! ओहो ! हजुर त !

हजुरलाई देखेर के-के सोचिरहेँ, तर जब हजुर बोल्न थाल्नुभयो र मैले सुनेँ । मैले हजुरको बोलीमा गहना भेटिन, देखिन । लाग्यो – हजुर त बुच्चै ! भित्र काम गरिरहेका इष्टमित्रका बीचमा पुग्नुभयो र हात चलाउन खोज्नुभयो । हात त्यति चलेनन्, मैले सीपमा पनि गहना भेटिन, देखिन । हजुरको त्यो सीप देखेर त्यहाँ बसेकाले आँखा सन्काए, खुसुक्क हाँसे । संयोगले हजुरका नजर त्यता पुगे अनि त हजुर फनक्क फर्केर अर्कैतिर लाग्नुभयो । मैले हजुरको अनुहारमा अरूथोक देखेँ तर त्यस्तो गहना देखिन, जुन गहनाले हजुरलाई ती गहनाले भन्दा सुन्दर बनाउँथे र हजुरका आफन्तहरूलाई पनि सजाउँथे । त्यस्तो सुन्दर गहना, कपडा भने पाइन, देखिन, बरू हजुरको आधाभन्दा बढी हर उदाङ्गै देखेँ । अरूले पनि देखे होलान्- त्यहाँ न गहना थियो न वस्त्र ।

अब म हजुरलाई कस्तो भाग्यमानी ठानूँ ? कस्तो सुन्दरता भएको ठानूँ । कति गहना लगाएको भनूँ ? हजुरका ती गहना सक्कली थिएनन् कि ! अथवा मेरा आँखाले सक्कली गहना चिन्न नसकेका हुन् कि ! मेरा आँखै नक्कली हुन् वा हजुरका गहना नक्कली हुन् ! हजुर केही बोल्न थाल्नुभयो तर हजुरका भाषामा, बोलीमा पनि मैले त्यो सुन्दरता भेटिन, देखिन । मैले मात्र किन ? त्यहाँ भएका अरू आफन्तले समेत भेटेनन् । साना केटाकेटी र केही सामान्यले मात्र हजुरतिर हेरिरहे । त्यसरी त केटाकेटीले बाख्राका पाठापाठी वा कुकुरका छाउरालाई पनि हेर्छन् । मैले खुट्याउन सकिन हजुर कत्तिको सम्पन्न वा बिपन्न ? कत्तिको ज्ञानी वा अज्ञानी ? हजुरको विद्याको मूल्याङ्कन गर्ने क्षमता पनि मसित भएन ।

हजुरले लगाएका गहना, कपडा, हजुरका सिद्धान्त, पढाइ सक्कली थिए कि नक्कली? ती सबै कुन बजारमा किन्नुभएको थियो कुन्नि? म अहिले पनि भ्रममै छु – ती सक्कली ठानेर हजुरले भिरेका गहना, कपडा, प्रमाणपत्रहरू बारेमा सोचिरहेँछु र सोधिरहेँछु ती सबै किन्दा, लाउँदा हजुर झुक्किनुभयो कि हजुर होइन सक्कली- नक्कली नचिनेर म?

Loading...