आगलागीबाट १६ घरगोठ जले, ५४ लाखको क्षति

मुख्य समाचार समाज

कपिलवस्तु ८ चैत, कपिलवस्तुको शिवराज नगरपालिका– ६ पैखीखण्डामा शुक्रबार दिउँसो भीषण आगलागी भएको छ । आगलागीबाट ११ घर र ५ गोठ जलेर नष्ट भएका छन् । आगलागीबाट ५४ लाख बढीको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीय बुधई कुर्मीको फुसको घरबाट दिउँसो ३ बजेतिर आगलागी सुरु भएको थियो । हावाहुरीका कारण आगो फैलिएर गाउँका अन्य घर गोठमा समेत लागेकोे प्रहरी नायव उपरीक्षक रवीर रावलले बताए । आगोले स्थानीय सोनउल्लाह मियाको हात र खुट्टा जलेको र उनको चन्दौटा स्थित संजीवनी मेडिकलमा उपचार भइरहेको रावलले बताए । घाइते मियाको अवस्था सामान्य रहेको छ ।

आगलागीले बुधईको एउटा गाई जलेर मरेको र २ वटा गोरु घाइते भएका छन् । आगलागीबाट ईलाकत मुसलमान, हरिमिया, राहद मिया, अब्दुल मुसलमान, भगवती पाल, अब्दुल कलाम मुसलमान, सोनउल्ला मुसलमानको फुसका घर जलेका छन् । यस्तै समीन नाउ, मनजुर नाउ, कोदई कुर्मी, किस्लावती कुर्मी, किताबुल्लाह मुसलमान, वार्सवती मुसलमान, बाहाप मुसलमान, बर्म कुर्मीको घर समेत जलेको प्रहरीले जनाएको छ ।

आगलागीले अन्नपात, लत्ताकपडा, भाडाकुँडा, नगद जिन्सी सबै जलेको पीडितहरुले बताए । आगलागीपछि पीडितहरु खुला आकाशमुनी बस्न बाध्य छन् । आगलागी पीडितहरुकालागि तत्काल राहत उपब्ध गराउन आफूले निर्देशन दिएको प्रजिअ अर्जुन प्रसाद पोख्रेलले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी दमकल, स्थानयिबासीको सहयोगमा २ घन्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।