चीनको केरुङ जान एक वर्षे पास पाइने

आजको बजार मुख्य समाचार

रसुवा, ७ चैत, चीनको केरुङबाट सामग्री आयात तथा निर्यात गर्ने कन्टेनरका चालक तथा सहचालकले एक वर्षे अस्थायी अनुमति पत्र पाउने भएका छन् । अध्यामगन कार्यालय रसुवाबाट एक वर्षे अस्थायी प्रवेश अनुमति पाएका चालक तथा सहचालकलाई प्रवेश अनुमति दिन कुनै कठिनाइ नभएको चिनियाँ पक्षले जनाएको छ । चिनियाँ पक्षले तीन महिनाअघि नै प्रवेश अनुमति दिएको भएपनि नेपालबाट यसको प्रक्रिया टुङ्गिएको थिएन् ।

अध्यागमन कार्यालयले पास जारी गरेमा उनीहरू केरुङ जान पाउने चीनको केरुङ फ्रन्टायर इन्सपेक्सन स्टेसन, पिपुल रिपब्लिक चाइनाले जनाएको छ । चीनसँग सीमा जोडिएका जिल्ला बाहेकका जिल्लाका राहदानी बाहक चालक तथा सहचालकलाई केरुङ प्रवेशका लागि एक वर्षे अस्थायी प्रवेश अनुमति पाउने अध्यागमन अधिकृत विष्ण्ॉ घर्तीले बताए ।

चीनसँग सिमाना जोडिएका जिल्ला बाहेकका अन्य जिल्लाका चालकलाई अध्यामगन कार्यालय रसुवागढीको सिफासिमा चिनियाँ अध्यागमनले अस्थायी अनुमति दिनेछ । जिल्ला बाहिरको व्यापारी, चालक तथा सहचालक केरुङसम्म जान नपाउँदा कारोबारमा कठिनाइ हुने गरेको व्यापारी बुद्धराज बस्नेतले बताए ।

रसुवाका नागरिकले भने एक वर्षका लागि नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) पाउने गरेका छन् । चीनसँग सीमा जोडिएका १५ जिल्लाका नागरिकले जिल्ला प्रशासन, इलाका प्रशासन, सीमा प्रशासन वा अध्यागमन कार्यालयबाट एक वर्षे पास पाउँछन् ।

नेपाल–चीन सीमा क्षेत्रमा बस्ने नागरिकलाई चीन सरकारले दिँदै आएको एक वर्षे प्रवेशाज्ञा रसुवाका १० हजार ३७ जनाले पाएका छन् । यो २०७२ असोज २८ गतेदेखि यही फागुन १६ गतेसम्मको तथ्याङ्क हो ।