[कविता] होली आयो होली … ! -डिल्लीराज अर्याल

कला/संस्कृति मुख्य समाचार

रङ्गिबिरङ्गी रूप लिएर आज अनौठो होली आयो
आफ्ना संस्कृति ध्वस्त बनाई पोल्ने आगो होली आयो
आफ्ना पौरख टाढै राखी छिमेक पोस्ने होली आयो
रङ्ग उनैका ढङ्ग उनैका नक्कल गर्ने होली आयो
‘होली आयो’ भेस्ट बनेर भेष उतैको आयो आयो
नेपालीको रहर बनेर नगद बगाउन होली आयो
अलिकति मदिरा, चिउरा, मासु, घोट्टा भाँग रमाउन आयो
अलिकति बेढङ्गी, बेशर्मी नाच र हल्ला होली आयो
हल्ला आयो सडक शहरमा उच्छृङ्खलता नाङ्गै आयो
फागु गाउँदै अबीर खेल्ने शिष्ट संस्कृतिले भाँगै खायो
घरको के हो परको के हो नाफा के हो घाटा के हो?
चेत हरायो अन्तबाट नै आयो रङ्ग र रङ्ग हरायो
शिक्षा, संस्कृति, सोच अरूकै आयो त्यसले ढाक्दै आयो
सोच गुमेका नखरा गर्ने जमातको यो बन्दै आयो
जस्तो लाए, खाए पनि भो, जे बोले पनि लाग्छ सुहायो
सोच गुमेको दास अरूकै बन्ने मान्छे मात्र रमायो
भविष्य आफ्नो बिर्सी सारा पिएर मदिरा होश गुमायो
हाँस्दछ भन्दछ खुशी खुशीले होली आयो होली आयो
आउनुपर्ने फागु पुरानो, सोच नयाँ अलि उच्च थियो
कुन्नि के भयो सोच पुरानो, नयाँ बनी यो विकृति आयो ।

Loading...