इन्टेरियर डिजाइनिङमा भविष्य खोज्दै साहाना

कला/संस्कृति मुख्य समाचार

केशवराज भण्डारी, झापा, ६ चैत, झापाको विर्तामोडमै इन्टेरियर डिजाइनिङ सुरु गरेकी साहाना अली यति बेला इन्टेरियर तथा एक्सटेरियर डिजाइनमा ब्यस्त छिन् । घर निर्माण हुनु पूर्व वा निर्माण सम्पन्न भइसकेपछिको सजावट अर्थात डिजाइनका लागि विगतमा भारत वा अन्य देशमा मात्र डिजाइन गराउने सुविधा थियो । पछिल्लो समयमा फर्निचर तथा आल्मुनियम ब्यवसायीहरुले विदेशी डिजाइनरको डिजाइन अनुसार घर कोठा चोटाको ब्यवस्थापन तथा श्रृङ्गार गर्ने चलन बढेको छ । यसै कुरालाई मध्यनजर गर्दै झापा अर्जुनधारा नगरपालिका वडा नं. ८ स्थायी ठेगाना भएकी २४ वर्षीया साहाना अलीले यी सम्पूर्ण डिजाइन गर्ने सेवा झापाको विर्तामोडमा सुरु गरेकी छिन् ।

इन्टेरियर तथा एक्स्टेरियर अर्थात घर भित्र तथा बाहिर दुवैको कमर्सियल तथा रेसिडेन्टल डिजाइन साहानाको प्रमुख काम हो । साहानाले आइ एन आइ एफ डि अन्तर्गत भारतको सिलिगुडीमा डिजाइनको कोर्ष सुरु गरेकि हुन् । साहानाले साइनाथ युनिर्भसिटि झारखण्डको सम्वन्धन प्राप्त नयाँ दिल्लीमा रहेको एक कलेजबाट २ वर्षको ग्रयाजुएसन कोर्ष गरेकि छिन् । १ वर्ष नयाँ दिल्लीकै साउथ एक्स डिभाइन इन्टेरियरमा जागिर सँगसँगै इन्टर्नशीप गरिसकेपछि आफ्नै देशमा फर्किएर बैंक, अफिस, घर, हस्पिटल, स्कुल, पसल, म्युजियम, रेष्टुरेन्ट एण्ड बार, सो रुम, बालबच्चाहरुका लागि घर भित्र वा बाहिर खेल्ने ठाउँ लगायतकोे वास्तुशास्त्र अनुसार नै आकर्षक डिजाइन गर्दै आएकी छिन् ।

विर्तामोड स्थित निल डेभिडको आधुनिक सुविधा सम्पन्न सैलुनको डिजाइन गरिसकेकी साहाना भन्छिन् ‘विदेशमा गएर हामीले केही सिकेर त्यो सिपलाई आफ्नै देशमा प्रयोगमा ल्याउन सकियो भने देश विकास आफैँ हुन्छ ।’

टु डि तथा थ्रि डी क्वालिटीमा डिजाइन गर्ने गरेकी साहानाले विर्तामोड नगरपालिका वडा नं. ५ को पाथिभरा टोल रोड नं. १ मा सना इन्टेरियर डिजाइन नाम दिएर ६ महिना अघिदेखि डिजाइनको सुरुवात गरेकी छिन् । हालसम्ममा लगभग १२ वटा फरक फरक डिजाइनको काम सम्पन्न गरेकी साहानाले २० वडा डिजाइको काम सम्झौता गरिसकेकी छिन् ।

साहानाको परिवारमा बुवा, आमा र भाइ छन् । बुवा, आमाको छुट्टै सिरक दोकान छ भने भाइले पनि १२ कक्षा उत्तीण गरी आर्किटेक्ट अध्ययनका लागि तयारी गरिरहेका छन् । भाइले आर्किटेक्टको कोर्ष सकेपछि भने दिदीभाइको पढाइ र ब्यवसाय एक सिक्काका दुई पाटा हुने उनी बताउँछिन् । साहाना भन्छिन्, ‘भाइले कोर्ष सकेपछि मैले डिजाइन गर्छु भाइले डिजाइन अनुसारको काम गर्छन् त्यसले मलाई र भाइ दुवैलाई काम गर्न सहज हुन्छ ।’

आत्मविश्वास र सहासका साथ साहानाले सुरुवात गरेको ब्यवसाय झापामा नौलो भए पनि विकासमा समयको माग अनुसारको नयाँ सोचबाट अगाडि बढेको छ । जसले नेपाली युवा पीढिमा देशमै केही गर्न सकिने सन्देश दिएको छ ।