दुहबीमा तालिम, परामर्श तथा रोजगार मेला सम्पन्न

मुख्य समाचार रोजगार विषेश समाचार

झापा, ६ चैत, सुनसरीको दुहबी नगरपालिकामा एक दिने तालिम (वृत्ति) परामर्श तथा रोजगार मेला सम्पन्न भएको । बेरोजगार युवालाई रोजगारी दिने तथा रोजगारदातालाई कामदार उपलब्ध गराउने उद्देश्यले मेलाको आयोजना गरेको आयोजकले जनाएको छ ।

दुहबी नगरपालिका, सुनसरी, बेढीगंगा गाउँपालिका, मोरङ्ग र उद्योग संगठन मोरङ्गको आयोजना तथा ईन्स्योर परियोजना, प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, हेल्भिटास नेपालको सहयोगमा मेला सम्पन्न भएको हो ।

मेला उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गमलामा रोपेको फूलमा पानी हालेर गरेका थिए । उद्घाटनपछि बोल्दै मुख्यमन्त्री राईले सम्वृद्ध नेपाल, सुखी नेपाली भन्ने सरकारको नारालाई पुरा गर्न यस्तो मेलाले सहयोग गर्ने राम्रो अवसर भएको बताए । यसअघि प्रदेश सरकारले ल्याएका केही कानुनका कारण उद्योग सञ्चालनमा समस्या भएको भएपनि अबसँगै बसेर ती समस्या कसरी हल गर्न सकिन्छ भन्ने विषय तिर प्रदेश सरकारको ध्यान गएको समेत राईले बताए ।

स्वदेशमा दक्ष कामदार नभएका कारण अहिले कतिपय उद्योगले विदेशी कामदारका कारण आफ्नो उद्योग सञ्चालन गरिरहेका छन् अबका दिनमा समय अनुकुल व्यवहारिक शिक्षा, सिप लगायतका विषयमा स्वदेशमै दक्ष कामदार उत्पादन गर्न प्रदेश सरकार लागिपरेको प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग संगठन मोरङ्ग अध्यक्ष भीम घिमिरेले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै अबका दिनमा दक्ष युवाले परिवारलाई छोडेर रोजगारीका लागि तातो घाममा विदेशिनु नपर्ने र त्यसका लागि नेपालमै रोजगारी दिने प्रतिवद्धता जनाए ।

मेलामै उपस्थित योग्य युवाहरुलाई छनौट गरी आजै रोजगारदातालाई उपलब्ध गराउने रोजगार पसलका डिल्लीराम ढकालले जानकारी दिए ।

मेलामा ४६ वटा स्टल राखिएका थिए । सबै स्टलको मुख्यमन्त्री राईले अवलोकन गरेका थिए भने मेलामा उपस्थित उद्योगीहरुले ३ सय ५० जना दक्ष युवालाई रोजगारी दिने प्रतिवद्धता जनाएका छन् ।