होलीलाई मर्यादित र सभ्य बनाउन गृहमन्त्रालयको चेतावनीसहितको अनुरोध

कला/संस्कृति मुख्य समाचार

काठमाडौँ, ५ चैत, रङ र खुसियालीको पर्व होली अर्थात् फागुलाई मर्यादित र सभ्य ढंगले मनाउन गृहमन्त्रालयले सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीले मंगलबार एक विज्ञप्ति जारी गर्दै धार्मिक एवम् सांस्कृतिक दृष्टिले मर्यादित र सभ्य ढंगले मनाउँदा मात्र होली/फागु पर्वको महत्व सिद्ध हुने हुँदा मर्यादित र सभ्य ढंगले मनाउन आग्रह गरेका हुन् ।

गैरकानुनी तथा असभ्य व्यवहार गर्नेलाई कानून बमोजिम कारबाही हुने पनि मन्त्रालयले चेतावनी दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘होली÷फागु पर्व मनाउने नाममा कसैको इच्छा विपरीत जबरजस्ती, अमर्यादित, गैरकानूनी र उछ्रिङ्खल किसिमका कुनै पनि व्यवहार गर्ने, अर्काको इच्छा विपरीत रङ्ग दल्ने, प्लास्टिकजन्य लोला हान्ने फोहोर छ्याप्ने, बाटोमा हिड्ने व्यक्तिहरुलाई दुःख, हैरानी तथा कष्ट दिनेजस्ता कार्य प्रचलित कानून विपरित हुन् ।’ कानून विपरितका कार्य तथा असभ्य व्यवहार कोही कसैले नगर्न नगराउन पनि मन्त्रालयले सबैमा अनुरोध गरेका छ । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कोही कसैको इच्छा एवम् स्वीकृति बेगर यस प्रकारका कानून विपरित काम गरे गराएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सर्वसाधारण सबैको जानकारीका लागि अनुरोध छ ।’

यो वर्ष चैत ६ गते हिमाली तथा पहाडी जिल्लामा र चैत ७ गते तराईका जिल्लामा होली अर्थात् फागु पर्व मनाइँदैछ ।

तस्विर: फायल

Loading...