जनप्रतिनिधिको सवारीसाधन किन्ने रकमले दुईवटा बस खरिद

प्रदेश मुख्य समाचार

खोटाङ, ४ चैत्र, उदयपुरको लिङ्चिङबुङ गाउँपालिकाले जनप्रतिनिधिका लागि सवारी साधन खरिद गर्न विनियोजन गरिएको बजेटले बस खरिद गर्ने निर्णय गरेको छ । गाउँपालिका प्रमुखका लागि सवारी साधन खरिद गर्न गाउँसभाले विनियोजन गरेको ५७ लाख ७१ हजार रकम दुई वटा बस खरिद गर्ने निर्णय गरिएको हो ।

स्थानीय सरकारको प्रत्याभूति दिनका लागि गाउँ कार्यपालिकाको बैठकले पालिकाबासी जनताले उपयोग गर्न पाउने गरी बस खरिद गर्ने निर्णय गरिएको लिङ्चिङबुङ गाउँपालिका प्रमुख मेजर राईले बताए । ‘जनताका माझमा गाडी चडेर हिँड्नु उपयुक्त लागेन । हामीले गाडी चढ्नुभन्दा जनताले चढ्न आवश्यक छ’ गाउँपालिका प्रमुख राईले भने, ‘लामो समयपछि स्थानीय सरकार आएको छ । यो सरकारले पनि गरिब जनताको लागि नसोच्ने÷नगर्ने हो भने कसले गर्ने, कसले सोच्ने ?’

गाउँ कार्यपालिकाको बैठकले जनप्रतिनिधिको गाडी खरिद गर्नुको सट्टा बस खरिद गर्ने निर्णय गरेपछि बस सञ्चालन कार्यविधि बनाउने तयारी थालिएको गाउँपालिका प्रमुख राईले बताए । हाल गाउँपालिकाभित्र सञ्चालनमा रहेका सार्वजनिक यातायातले नियमित सेवा दिन नसकेको र कतिपय सर्वसाधारणले भाडा तिरेर सार्वजनिक यातायातको सेवा लिन नसकिरहेको अवस्थामा गाउँपालिका आफैले बस खरिद गर्ने निर्णय गरेको हो ।

खरिद गरिएको बस कार्यविधि तयार गरेर लिङ्चिङबुङ गाउँपालिकादेखि गाईघाट, मुर्कुची, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र लिङ्चिङबुङ गाउँपालिकाको सिमानामा पर्ने कुनैघाटसम्म सञ्चालन गरिने गाउँपालिका प्रमुख राईले बताए ।