विर्तामोडमा पशु स्वास्थ्य शिविर सम्पन्न, जनप्रतिनिधिले भने चासो दिएनन्

कृषि मुख्य समाचार विषेश समाचार

केशवराज भण्डारी, झापा, ५ चैत, झापाको विर्तामोड नगरपालिका पशुपन्छी विकास शाखाको आयोजनामा फागुन २८ गतेदेखि चैत्र ३ गतेसम्म नगरका सबै वडाहरुमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०७५–०७६ को स्वीकृत क्लिनिकल उपचार सेवा शीर्षकबाट रु ५ लाख ५० हजार खर्चमा सञ्चालित शिविरबाट १ हजार ५८ घरपरिवारका कृषकले सेवा लिएको विर्तामोड नगरपालिकामा कार्यरत नायव पशु स्वास्थ्य प्राविधिक विष्ण्ॉ भट्टराईले जानकारी दिए । नगरका विभिन्न स्थानमा निरन्तर ६ दिनसम्म सञ्चालिन शिविरमा वयस्क तथा उत्पादनशील गाई र भैँसी १७ सय ९० वटा, बाछाबाछी तथा पाडापाडी ८ सय ३१, बाख्रा २ हजार १ सय ५, बंगुर १ हजार १ सय ५७, कुखुरा २ हजार ५ सय ८७ गरी जम्मा ८ हजार ८ सय ७० वटा पशुका लागि औषधी वितरण गरिएको छ ।

त्यसैगरी उपचार तर्फ वाँझोपन निवारण २ सय ३५, बोका खसी ५०, गर्भ परिक्षण ५०, अन्य ५ सय १८ गरी जम्मा ५ सय ४८ वटा पशुपन्छीहरुको उपचार गरिएको पशुपन्छी विकास शाखा प्रमुख सानुमायाँ श्रेष्ठले जानकारी दिइन् ।

विर्तामोड नगरपालिकाले वर्षै पिच्छे सञ्चालन गर्ने गरेको पशु स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण, पशु बन्ध्याकरण, कृतिम गर्भाधान, आन्तरिक तथा बाह्य परजीवि विरुद्धको औषधि निःशुल्क वितरण, गर्भ परीक्षण, पशुपालन तथा पशु बीमासम्बन्धी परामर्श सेवा, बाँझोपन निवारण लगायतका सेवाहरु गाउँ गाउँमै पुर्याएसँगै कृषकहरुमा उत्साह थपिएको छ । फागुन २८ गते वडा नं. १ र २, २९ गते वडा नं. ३, ४ र ६, ३० गते वडा नं. ७, चैत्र १ गते वडा नं. ८, २ गते वडा नं. १०, र ३ गते वडा नं. ९ मा पुगेर शिविर समापन भएको थियो । शिविरमा सहभागी अधिकांश नागरिकहरुले १ दिनका लागि एक ठाउँमा मात्र सीमित भएको गुनासो गर्दै आगामी दिनमा यसलाई हरेक वडाका टोलटोलमा पुर्याउनु पर्ने माग राखेका छन् ।

विर्तामोड नगरपालिकाका हरेक वडामा सञ्चालन भएको पशु स्वास्थ्य शिविर सफल बनाउन केही वडाका जनप्रतिनिधिहरुले सहयोग गरे पनि अधिकांश वडा अध्यक्षहरु शिविर सञ्चालन भएको स्थानमा पुगेनन् । वडा नं. ६ का वडा अध्यक्ष सूर्य कन्दङ्वाले भने शिविर सञ्चालनका लागि फरक धारणा राखेका छन् । शिविर ब्यवस्थापनमा राम्रो भूमिका निर्वाह गरेका कन्दङ्वाले आगामी आर्थिक वर्षमा नगरबाट मात्र नभई वडाबाट पनि बजेट निर्धारण गरेर वडाका विभिन्न स्थानमा शिविर सञ्चालन गर्ने बताएका छन् । शिविर सञ्चालन अवधिमा सञ्चालन भएको स्थानमा सञ्चारकर्मी पुग्दा कर्मचारीहरु मात्र सेवा प्रवाहमा ब्यस्त देखिन्थे भने जनप्रतिनिधिहरुको उपस्थिति देखिएन । आफ्नो वडामा शिविर सञ्चालन हुँदा ब्यवस्थापनमा चासो नदेखाएका वडाहरुले पिउने पानीकोसमेत ब्यवस्थापन नगरेको शिविरमा सहभागीहरुले बताएका छन् ।