पोखराका बसमा ई–टिकेटिङ लागु हुने

आजको बजार मुख्य समाचार विषेश समाचार

पोखरा, ४ चैत, पोखरामा चल्ने सार्वजनिक यातायातका सवारी साधनहरुमा विद्युतीय टिकेटिङ प्रणाली (ई–टिकेटिङ) लागु हुने भएको छ । पोखरा महानगरपालिकाले एन.क्लाउड प्रालिसँगको सहकार्यमा पोखरामा चल्ने ट्याक्सी बाहेकका सबै सार्वजनिक सवारी साधनमा ई–टिकेटिङ सेवा सञ्चालन गर्न लागेको हो । ई–टिकेटिङसँगै विद्युतीय मेसिनबाटै पैसा तिर्ने स्मार्ट कार्ड पनि प्रयोगमा ल्याइने भएको छ ।

वैशाखको पहिलो हप्ताबाट सञ्चालनमा आउने ई–टिकेटिङबारे आइतबार पोखरा महानगरपालिका र एन.क्लाउडबीच सम्झौता भयो । सम्झौता पत्रमा पोखरा महानगरपालिकाका तर्फबाट महानगरपालिका प्रमुख मानबहादुर जिसी र एन.क्लाउडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रनारायण श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौतासँगै पोखरामा गुड्ने ८०२ वटा यात्रुबाहक बस तथा माईक्रो बसमा ई–टिकेटिङ तथा स्मार्टकार्ड लागु हुनेछ । सम्झौता अनुसार पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा बस ब्यवसायी समिति, स्थानीय श्रृङ्ग यातायात समिति, बेगनास ताल बस सञ्चालक समिति, विन्ध्यबासिनी यातायात व्यवसायी समिति र पोखरा फेवा यातायात प्रालिद्वारा सञ्चालित बस तथा ट्याक्सी व्यवसायी समितिद्वारा सञ्चालित माइक्रो बसमा यो लागु गरिनेछ ।

सम्झौता अनुसार वैशाख पहिलो साताबाट पोखराका बसहरुमा ई–टिकेटिङ लागु हुनेछ । सुरुमा एन.क्लाउडले पोखरामा चल्ने सबै सार्वजनिक सवारी साधनमा ई–टिकेटिङका लागि आवश्यक पर्ने डिभाइस प्रदान गर्ने महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए ।

ई–टिकेटिङसँगै विद्युतीय मेसिनबाटै पैसा तिर्ने स्मार्ट कार्ड पनि प्रयोगमा ल्याइनेछ । रिचार्ज गर्न मिल्ने यो कार्डबाट यात्रुले सीधै आफूले यात्रा गरेको रकमको बिल भुक्तानी गर्न सक्नेछन् ।