ईटहरीमा मौलाउदै लागूऔषध कारोबार

मुख्य समाचार समाज

इटहरी, ३ चैत, इटहरीमा लागूऔषध सेवन गर्ने युवाको संख्या बढ्दो भएकाले यसको व्यापार पनि मौलाइरहेको छ । लागूऔषधको व्यापार मौलाइ रहँदा कारोबारीमा संलग्नले तस्करी गर्ने अनेक उपाय रच्ने गरेका छन् । भारतको जोगवनीबाट ल्याउँदा बढीमात्रामा विराटनगरसम्म भारतीय नागरिकले ल्याइदिने गरेका छन् । लागूऔषध कारोबारीमा बढी मात्रामा पुराना व्यक्ति तथा यसका प्रयोगकर्ता नै हुने गरेका छन् ।

लागूऔषधको कारोबारका लागि मुख्य डिलिङ हुने स्थानको रुपमा इटहरीसमेत विकास भइरहेको प्रहरीले जनायो । लागूऔषधको कारोबारमा संलग्नहरुका अनुसार इटहरीबाट पूर्वका गाउँबस्तीमा लागूऔषध खपत हुने गरेको छ ।

इटहरीभरी जेठदेखि फागुन ३० गतेसम्म दश महिनाको अवधिमा नाइट्रोसन, नाइट्राभेटलगायतका ट्यावलेट पाँच हजार चार सय ७८ ट्याब्लेट, गाजा १७ केजी ५५ ग्राम, फेनारगन, लुपिजेसिक र एभील नौ सय २३ एम्पुल प्रहरीले बरामद गरेको छ । यस्तै, ब्राउन सुगर आठ ग्राम ७९१ मिलिग्राम, कोरेक्स, डाइलेक्स डिसी र फेन्सिडिल गरी ११३ बोतल बरामद गरिएको छ । यो विवरणले इटहरीमा लागूऔषध धन्दाको भयावह अवस्था झल्कन्छ ।

दश महिनाको अवधिमा इटहरीमा ३७ वटा मुद्दा दर्ता भई ५८ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये एक जनालाई तीन महिना कैद र दुई हजार जरिवाना, दुई जनालाई एक महिना २३ दिन कैद तथा दुई हजार जरिवाना तोकिएको छ । यस्तै, एक जनालाई एक महिना कैद, १४ जनालाई पुर्पक्षका लागि कारागार चलान, २७ जना धरौटीमा रिहा र १३ जना अनुसन्धानको क्रममा छन् ।

प्रहरीका अनुसार ५५ जनामध्ये ६ जना ब्राउन सुगर र ३२ जना गाँजा सेवनकर्तालाई अभिभावकले चाहेको स्थानमा सुधार केन्द्रमा पठाएको छ ।