तीन लघुकविता -डिल्लीराज अर्याल

मुख्य समाचार साहित्य

१)
गजब कुरो गर्नुहुन्छ !
अन्तर्वार्ताकारज्यू ,भन्नुहोस् त
तपाईं कुन कुन आधारमा छान्नुहुन्छ ?
केका निम्ति कस्तो उमेदवारलाई योग्य मान्नुहुन्छ ?
वाह मित्र, क्या गजब कुरो गर्नुहुन्छ !
के मलाई आफन्तै नभएको ठान्नुहुन्छ ?
अथवा तिनलाई छान्नै नजान्ने ठान्नुहुन्छ ?

२)
सत्य सेवा सुरक्षणम्
प्रहरी दाइ, यो डण्डा सधैं लिनुहुन्छ ?
कि कहिलेकाहिं कसैलाई दिनुहुन्छ ?
वाह मित्र, तपाईँ गजब कुरो गर्नुहुन्छ !!
जुन डण्डामा सत्य सेवा सुरक्षणम् हुन्छ
त्यो आफैले राखेर पनि कहीँ काम हुन्छ?

३)
भन्नुहोस् त नेताजी
‘नेताजी, भन्नुहोस् त के के भयो?
देश विकासको आश्वासन कता गयो?
हाम्रो जिल्लामा कुनै राम्रो योजना पार्नुभयो?
‘वाह मास्टरजी गजब कुरो गर्नुभयो
हेर्नु भएन कति जनाको सरुवा भयो ?
कति जनाको सजिलै जागिर गयो ?
योजना पार्ने कुरा मसित किन गर्नुहुन्छ?
त्यो त योजना आयोगसितै सोधे हुन्छ !’