व्यवसायिक सुरक्षाको माग गर्दै प्रचण्डको ध्यानाकर्षण

आजको बजार मुख्य समाचार

काठमाडौँ, ३ चैत, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको व्यवसायिक प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल
‘प्रचण्ड’लाई भेटेर वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित बनाइदिन आग्रह गरेको छ । आइतबार प्रचण्ड निवास खुमलटारमा पुगेर वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको निवासमा केही दिन अघि भएको विस्फोट र तत्पश्चात उत्पन्न व्यवसायिक सुरक्षाका विषयमा ध्यानाकर्षण गराएको हो ।

भेटघाटमा महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्र प्रसाद ढकाल, वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी र सदस्यहरू समेत सहभागी थिए । प्रतिनिधिमण्डलको तर्फबाट महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले अहिले व्यवसाय गर्ने वातावरण असजिलो भइरहेको बताए । लगानी सम्मेलन नजिकिँदै गरेको अवस्थामा देशमा घटिरहेका विभिन्न किसिमका घटनाहरूले व्यावसायीहरू त्रसित भइरहेको उनले बताए । भेटवार्ताका क्रममा महासंघका उपाध्यक्ष ढकालले सुरक्षा लगायत विभिन्न कारणले वैदेशिक रोजगार व्यवसाय संचालन गर्न कठिनाई परेको जानकारी गराए ।

सो भेटवार्ताका क्रममा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङले घटनाबारे विस्तृत जानकारी गराउँदै व्यवसाय संचालनमा समस्या भइरहेको उल्लेख गरे । भेटका अवसरमा प्रतिनिधिमण्डलका सदस्यहरूबाट व्यवसायिक सुरक्षाको प्रत्याभुति हुनुपर्ने, व्यवसाय गर्न वातावरण सुधार गर्नुपर्ने लगायतका धारणा राखेका थिए ।

सो अवसरमा नेकपाका अध्यक्ष दाहालले सरकार र आफ्नो व्यक्तिगत तर्फबाट समेत समस्याको विषयमा सम्बोधन गर्ने प्रयास भइरहेको टोली समक्ष जानकारी गराए । प्रचण्डले सरकार व्यवसाय र व्यवसायीहरूको सुरक्षाको निमित्त सदैव संवेदनशील रहेको बताउँदै व्यवसायीहरूको नोक्सानीको क्षतिपूर्ति दिलाउनसमेत सरकारसँग छलफल गर्ने आश्वासन दिए ।