उपत्यकामा बन्दको प्रभाव न्यून

राजनीति

काठमाडौँ, ३० फागुन, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव देखिएको छ । प्रत्येक दिन उपत्यकाका तिनै शहरमा सवारी साधनको घुइचो हुने भएता पनि आज न्यून संख्यामा सवारी साधन सञ्चालनमा आएका छन् ।

सार्वजनिक सवारी साधनको तुलनामा निजी सवारी साधन बढी गुडेको देखिएको छ । मानिसहरु मोटर साईकलमा दौडिरहेको दृश्य भने जताततै देख्न सकिन्छ ।

त्यसैगरी उपत्यकाका अधिकांश सरकारी तथा निजि विद्यालयमा बन्दको प्रभाव देखिएको छ । न्यून रुपमा सवारी साधन गुडिरहेका र मुख्य बजारहरु बन्द रहँदा काठमाडौं उपत्यका सुनसान जस्तै देखिएको छ । प्रायजसो भिडभाड भैरहने उपत्यकाका वैंक, अस्पताल, व्यापारिक प्रतिष्ठान आदिमा पनि सेवाग्राहीको आवागमन न्यून रहेको छ । तरकारी बजार तथा सडक किनाराका पसलहरुमा पनि बन्दको प्रभाव परेको छ ।

उपत्यकाबाट बाहिरिने सवारी साधनहरु सञ्चालन नहुँदा यात्रुहरु मर्कामा परेका छन् । एका बिहानैदेखि घुईचो देखिने कलंकी, गौशाला, नयाँवसपार्क, महाराजगञ्ज, कोटेश्वर, कीर्तिपूर लगायतका क्षेत्रहरु आज सुनसान देखिएका छन् । प्रहरीका अनुसार यो समाचार तयार पार्दासम्म नेपाल बन्दकै कारण कुनै किसिमको अप्रिय खबर प्राप्त भएको छैन ।