सरकारले हतारमा ‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगायोः देवेन्द्र पौडेल

मुख्य समाचार राजनीति

काठमाडौँ, २९ फागुन, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि हतारमा प्रतिबन्ध लगाएको टिप्पणी गरेका छन् । राजधानीमा बुधबार आयोजित एक साक्षातकारमा बोल्दै नेता पौडेलले पार्टीमा छलफल नै नगरी हतारमा निर्णय गरेको बताएका हुन् ।
नेता पौडेलले भने, ‘हिजोको क्याविनेटको निर्णय जुन भएको छ, यसबारेमा पार्टीमा छलफल हुन बाँकी छ । म पार्टीको जिम्मेवार व्यक्ति भएको हुँदा मेरा कुराहरु म पार्टीको बैठकमा राख्छु । तर पनि म यतिमात्रै भन्न चाहन्छु कि यी समस्याहरु शान्तिपूर्ण तवरले नै हल गर्नुपर्छ । कुनै पनि पक्षलाई निषेध गर्ने र कहीँ न कहीँ जबरजस्त गर्ने, त्यसलाई कहीँ न कहीँ बाध्यात्मक कदम चाल्ने अवस्था सिर्जना गर्ने काम राज्य पक्षले गर्नुहुँदैन ।’

उनले अहिलेको सिजन र अवस्था भनेको शान्तिपूर्ण तवरले खुल्ला प्रतिष्पर्धामा आउनको निम्ति संविधानप्रदत्त अधिकारलाई अधिकतम प्रयोग गर्नुपर्ने बताए । उनले थपे, ‘सरकारले अधिकतमभन्दा अधिकतम लचिलो भएर सबै पक्षलाई वार्तामा ल्याउनुपर्छ, यतिवेला सरकारको भूमिका हुनुपर्दथ्यो । त्यसलेमात्रै विकास निर्माणका कामहरु द्रुत गतिमा अघि बढाउन सक्छौं ।’

नेता पौडेलले विप्लवले पनि प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्दै शान्तिपूर्ण तवरले आफूलाई प्रस्तुत गर्नुपर्ने धारणा राखे । उनले भने, ‘जनतामा जागरण ल्याउनुपर्छ भने पनि संविधानअनुसार नै गर्नुपर्छ । त्योभन्दा अरु तरिका अपनाईयो भने त्यसले स्वयम् उहाँ र उहाँको पार्टीलाई राम्रो गर्दैन ।’

Loading...