सडक दुर्घटनामा तीन जनाको मृत्यु, १३ जना घाइते

ट्राफिक/प्रहरी मुख्य समाचार

सप्तरी, २९ फागुन, सप्तरीमा भएको छुट्टाछुट्टै सडक दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ भने १३ जना यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिकाको कुशहा खण्डमा बुधवार बिहान बस र मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार २ जनाको चेपिएर मृत्यु भएको हो ।

सो दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । गम्भीर घाइते भएका एक जनालाई धरान र अन्यलाई थप उपचारका लागि लहान स्थित विभिन्न अस्पतालमा पठाइएको छ । बसका चालक हाल प्रहरी नियन्त्रणमा रहेका छन् ।

उदयपुरको रामपुर ठोकसिलाबाट तिर्थयात्री बोकेर जनकपुरतर्फ जाँदै गरेको को १ ख ४९६४ नम्बरको बस र विपरित दिशाबाट गइरहेको को ३४ प ६४२५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । मोटरसाईकल माथि बस पल्टिदा किचिएर मोटरसाईकल चालक तथा त्यसमा सवार रहेका एक जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका–५ बस्ने ३५ वर्षीय मो. मजलुम मियाँ र मोटरसाइकलको पछाडि सवार सोही वडा निवासी ३४ वर्षीय रामे पासवान रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी भावेश रिमालले जानकारी गराएका छन् ।

बुधबार दिउँसो नै सप्तरीको खडक नगरपालिका–५ मा गाडीबाट लडेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज ६६६७ नम्बरको विङ्गरबाट लडेर सुरुङ्गा नगरपालिका– ११ बस्ने ३५ वर्षीया कल्पना चौधरीको मृत्यु भएको हो ।

Loading...