वीरगन्जको किसान एग्रो केमिकल्स उद्योगमा शिलबन्दी

कृषि मुख्य समाचार

वीरगन्ज, २९ फागुन, जिल्ला प्रशासन पर्सा नेतृत्वको टोलीले वीरगञ्जका उद्योगी श्यामकुमार तुल्स्यानले सञ्चालन गरेको किसान एग्रो केमिकल्स प्रालिमा छापा मारेको छ । छापा हान्ने टोलीमा वाणिज्य कार्यालय पर्सा, आन्तरिक राजस्व कार्यालय पर्सा, कृषि ज्ञान केन्द्र पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सालगायत कार्यालयका प्रतिनिधि थिए । टोलीले मंगलवार दिउँसो १ बजे वीरगञ्ज–३ छपकैयास्थित नारायणी अस्पतालको दक्षिणपट्टि रहेको सो उद्योगमा छापा हानी शिलबन्दी गरेको छ ।

उद्योग सञ्चालन ऐन बमोजिम उद्योग सञ्चालन नगरेको पाइएकोले प्रशासन कार्यालय पर्सामा उजुरी परेपछि छापा हानी अनुसन्धान थालेको वाणिज्य कार्यालय पर्साका प्रमुख ओमनारायण शर्माले बताए । बालीमा छर्ने किटनाशक औषधी गॉणस्तरहीन उत्पादन गर्ने गरेको, बिना इजाजत रिप्याकेजिङ गर्ने गरेको, म्याद सकिएको उत्पादनमा पुनः म्याद थपेर बजारमा पठाउने गरेकोजस्ता आरोपमा अनुसन्धान थालेको टोलीका सदस्यले बताए ।

छापा टोलीले उद्योगको परिसरबाट विभिन्न प्रकारको केमिकल तथा मालवस्तु फेला पारेको र त्यसको यकिन तथ्याङ्क निकाल्ने काम भइरहेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए । तुल्स्यानले विभिन्न किसिमले राजश्व छलिसमेत गरेको आशंकामा अनुसन्धान थालेको टोलीमा सामेल एक सदस्यले बताए ।

यसैबीच वीरगन्जका उद्योगी ब्यापारीहरुले होली पर्व नजिकिदै जाँदा बजारमा छापामारीको त्रास फैलाएर असुलीको वातावरण बनाउन खोजिएको भनी टिप्पणी गरेका छन् । दशैं, नयाँ साल, होली लगायतका अवरसरहरुमा वीरगन्ज क्षेत्रमा विभिन्न सरकारी निकाय छापामारीमा सक्रिय हुने गरेको उनीहरुको आरोप छ ।

Loading...