प्रहरीले रोक्यो १३ वर्षीया बालिकाको विवाह

ट्राफिक/प्रहरी मुख्य समाचार

सर्लाही, २९ फागुन, जिल्लाको दक्षिण पूर्वी क्षेत्र स्थित एक गाउँमा हुन लागेको बालविवाह प्रहरीले रोकेको छ । ईश्वरपुर नगरपालिका–३, भक्तिपुरमा हुन लागेको बालविवाह प्रहरीले रोकेको हो । महिला अधिकारकर्मी र प्रहरीको सक्रियतामा दलित (नट) समुदायकी १३ वर्षीया बालिकाको विवाह रोकिएको छ ।

बालिकाका अभिभावकले मंगलबार रातीनट समुदायकै स्थानीय २१ वर्षीय युवकसँग छोरीको विवाह गराउने तयारी गरेका थिए । बालविबाह हुन लागेको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय भक्तिपुरबाट खटिएको प्रहरी टोलीले विवाह रोकेको हो ।

ईलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक गौरव महतले बालिकाको अभिभावकलाई सम्झाइबुझाइ विवाह रोकेको जानकारी दिए । १३ वर्षकी बालिकासँग विवाह गर्न लागेका युवकलाई पनि कानून विपरीत उमेर नपुगेका बालिकासँग विवाह नगर्ने शर्तमा छाडिएको प्रहरीले जनाएको छ ।

जिल्लाको ग्रामीण भेगमा विशेष गरी मधेशी समुदायमा बालविवाहको प्रचलन बढी रहेको महिला अधिकारकर्मीले बताएका छन् । महिला अधिकारकर्मी बनिता कार्कीले जानकारीमा आएसम्मका बालविवाह रोक्ने गरिएको बताइन् ।

Loading...