१९ महिने बालक हराएको २३ घण्टापछि जंगलमा सकुशल भेटिए

मुख्य समाचार समाज

खोटाङ, २९ फागुन, खोटाङमा बेपत्ता भएको २३ घण्टापछि १९ महिने बालक सकुशल फेला परेका छन् । मंगलबार बिहान साढे १० बजे घरबाटै हराएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा हात्तीसार टोलका राजकुमार मगर र सपना मगरको १९ महिने बच्चा एवान मगर बुधबार बिहान ९ बजे भेटिएका हुन् ।

घरबाट बेपत्ता भएका बालक घरभन्दा २ किलोमिटर टाढा पर्ने भस्लुङपाखामा सकुशल फेलापरेको स्थानीय शिक्षक पञ्चुकुमार राईले बताए । मंगलबार दिनभर र रातभर खोजी गर्दा नभेटिएका बालकलाई शेसथुम्कीको पाखामा उत्तिसको घना जंगल र काँडाघारीभित्र चुथ्रोको फेदमा बसिरहेको अवस्थामा फेला पारिएको हो । चुथ्रोको फेदमा शान्तसँग बसिरहेका बालक स्थानीयलाई देखेपछि अत्तालिँदै आफन्ततर्फ आएको शिक्षक राईले बताए ।

१९ महिनाको बालक घरभन्दा दुई किलोमिटर माथि जंगलको घारीमा भेटिएपछि स्थानीय अचम्मित भएका छन् । ‘कसैले लगेर राखेको भन्ने अवस्था पनि देखिन्न’, राईले भने, ‘हिँडडुल गर्न नसक्ने बालक कसरी त्यति टाढा पुग्यो, हामी अचम्म भएका छौँ ।’ बेपत्ता भएको बालक फेला परेपछि अभिभावक भने खुसी भएका छन् । बालक हराएपछि प्रहरीलाई समेत खबर गरिएको थियो ।

Loading...