विप्लवसँग तत्काल वार्ता गर : कांग्रेस नेता पौडेल

मुख्य समाचार राजनीति

बुटवल, २८ फागुन, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विप्लव नेकपाको गतिविधिप्रति सरकारलाई गम्भीर हुन आग्रह गरेका छन् । उनले विप्लव नेकपाको क्रियाकलाप नियन्त्रण नभए त्यसले ठूलो असर गर्ने भन्दै वार्ता गर्न आग्रह गरे ।

नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले यस्तो कुरा बताएका हुन् । ‘सर्पको खुट्टा सर्पले देख्छ’ नेता पौडेलले भने ‘विप्लवको समस्या के हो चाँडो समाधान गर्नुपर्छ ।’ प्रधानमन्त्रीलाई विप्लवलाई बोलाएर वार्ता गर्न आग्रह गरेको स्मरण गर्दै भने ‘अविलम्ब विप्लवजीसँग वार्ता गर ।’

उनले विखण्डनकारी शक्तिलाई मूलधारमा ल्याउने हिसाबले सुरुवातमा कांग्रेसले सकरात्मक प्रतिक्रिया दिए पनि राउतसँगको सम्झौता अपरिपक्व रहेको बताए । सरकारले राष्ट्रिय अखण्डता माथि नै प्रहार गरेका बताए । ‘सरकार कति धेरै अपरिपक्व र हावा रहेछ भन्ने कुरा यहि सहमतिबाट प्रष्ट भएको छ’, उनले भने । नेपालमा पृथकतावादी आन्दोलन सकिएको भनेर प्रधानमन्त्रीले दुस्प्रचार गरिरहेको उनको धारणा छ ।

सरकारका काम कारवाहीको विषयमा धारणा राख्दै उनले वाइडवडी काण्डमा तत्कालिन पर्यटन मन्त्री रावीन्द्र अधिकारी निर्दाेष रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईलाई उनले सत्यलाई ढाकाछोप गर्न असत्यको प्रचार प्रसार गरेको टिप्पणी गरे ।

Loading...