इट्टा उद्योगका सुपरभाइजर हत्या प्रकरणः पाँच जना जेल चलान

मुख्य समाचार समाज

इटहरी, २८ फागुन, करीब पाँच महिनाअघि सुुनसरी दुहवी वडा नं. ९ सोनापुरको छातावेलीमा जय बाबा इट्टा उद्योगका सुपरभाइजर दुहवी वडा नं. ९ कै ५५ वर्षीय मोहम्मद फिदा हुसेनको मंसिर ५ गते भएको हत्या आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

हत्या आरोपमा सुनसरी प्रहरीले पक्राउ गरी मुद्दा चलाएका दुहवी वडा नं. ९ का मोहम्मद सकिम हुसेन, मोहम्मद जाविर हुसेन, मोहम्मद जफार मियाँ, वडा नं. १२ का विशम्बर यादव, वडा नं. ३ का दिपककुमार साहलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिइएको हो ।

शुक्रबारदेखि बहस सुरु भएर आइतबारबाट थुनछेक बहस भएकोमा सोमबार न्यायाधीश नारायणप्रसाद दाहालको आदेश अनुसार पाँचै जना पुर्पक्षकालागि जेल चलान गर्ने आदेश दिइएको थियो ।

नियमित मनिङ् वार्कमा निस्किएको बेला फिदाको मंसिर ५ गते बिहान ६.३० बजेतिर हत्या गरिएको थियो । पक्राउ पर्नेका साथबाट प्रहरीले कटुवा पेस्तोल खोकासहितको एक थान, कटुवा पेस्तोलमा लाग्ने गोली दुई राउन्ड र चक्कु एक थान फेला पारेको थियो ।

Loading...