भैरहवा, २८ फागुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्र विखण्डन गर्ने तत्व सतहमा देखिएको टिप्पणी गरेका छन् । उनले सिके राउतसँग सरकारले गरेको ११ बुँदे सहमति अस्पष्ट र विखण्डनकारी शक्तिलाई खेल्ने अवसर दिनेखालको रहेको बताए । मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा मंगलबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष थापाले राउतसँगको सहमति अस्पष्ट, अमूर्त र रहस्यमय रहेको बताए ।
‘सम्झौतालाई पटक पटक पढ्यौं, कहिँ कतै विखण्डनलाई छाडेको बुझिन्न’ उनले भने —’यसले देशलाई खतरा छ ।’ जनकपुरमा राउतले हतियारसहित सैन्य दस्ता सार्वजनिक गरेकाले राष्ट्र विखण्डनलाई बढावा दिएको आरोप लगाए ।
उनले सम्झौतामा राउतका कार्यकर्तालाई नेपालमा नागरिकता नभए पनि बस्न मिल्ने आशयको बुँदा उल्लेख गरिएकोमा आपत्ति जनाए । उनले नेपालमा तत्कालिन माओवादीसँग दिल्लीमा भएको शान्ति सम्झौतापछि वैदेशिक हस्तक्षेप बढेको पनि बताए ।