जन्ती बस दुर्घटनामा २ जनाको मृत्यु, २२ जना घाइते

ट्राफिक/प्रहरी मुख्य समाचार विषेश समाचार

हेटौडा, २८ फागुन, कान्तिलोकपथको हेटौंडा–काठमाडौं अन्तरगत मकवानपुर गढी गाउँपालिका २ धरमपानीमा जन्ती बोकेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । भक्तपुरबाट २८ जना जन्ती बोकेर हेटौंडातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस सडकको घुमाउरो मोडबाट भीरमा खस्दा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको पाँचखाल लामिडाँडाका ३५ वर्षीय नवराज परियार र नुवाकोट घर भई बालाजु बस्ने २५ वर्षीय विकाश धमला रहेको मकवानपुर प्रहरीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए । दुर्घटनामा गम्भीर घाईते सिन्धुपाल्चोकको बलेफी ५ का १८ वर्षीय भुवन नेपालीको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै घाइतेहरु सिन्धुपाल्चोकको सुनकोशी ७ का ४० वर्षीय मित्रप्रसाद नेपाल, काभ्रेपलाञ्चोकका २१ वर्षीय राजन ढुङ्गानाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । बाँकी सामान्य घाइते भएका १९ जनाको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा सामान्य उपचार गरी घर फर्किएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक भट्टराईका अनुसार सडकबाट करीब २० मिटर तल भीरमा खसेर रुखमा अड्किएको अवस्थामा बसबाट यात्रुको उद्धार गरिएको थियो । केही समयअघि मात्र सडक विस्तारसँगै कालोपत्रे (पीच) भएको निर्माणाधीन लोकपथमा मंगलबार दिउँसो पौने २ बजे उक्त दुर्घटना भएको हो ।

Loading...