देवघाटधाममा बन्दैछ ३० फिट अग्लो अष्टधातुको शिव मूर्ति

कला/संस्कृति मुख्य समाचार

काठमाडौँ, २८ फागुन, चितवन, तनँहु र नवलपरासीकाे संगमस्थलमा रहेकाे देवघाटधाममा अष्टधातु शिवकाे मूर्ति निर्माणकाे तयारी थालिएकाे छ । देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले अष्टधातुबाट निर्मित ३० फिट अष्टधातु शिवकाे मूर्ति निर्माण गर्न लागेकाे छ । देवघाटधाममा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित मूर्ति निर्माण गर्न लागेकाे प्रतिष्ठानले जनाएकाे छ । धातु संकलन गर्न प्रतिष्ठानले काठमाडाैंमा महायज्ञ गर्ने भएकाे छ ।

आठ प्रकारका धातु सङ्कलनका लागि आगामी बैशाख १ गतेदेखि ११ गतेसम्म काठमाडौँको पशुपतिनाथस्थित हंशमण्डपमा महायज्ञ गर्न लागिएकाे मूल आयोजक समितिका संयोजक केशव पाण्डेले जानकारी दिए । महायज्ञकाे विषयमा प्रतिष्ठानले चितवनबाट काठमाडौँमा आई पत्रकारिता गरिरहेका पत्रकारहरुसँग अन्तर्क्रिया गरेकाे थियाे ।

महायज्ञबाट करीब पाँच करोड बराबरको धातु सङ्कलन गर्ने लक्ष्य राखिएको प्रतिष्ठानले जनाएको छ । महायज्ञमा तीन करोडको बेलपत्र चढाउने कार्यक्रम समेत छ । देवघाटमा चाँदी, सुन, तामा, पित्तल, ढलोट, चरेस, काँच, फलाम मिश्रित धातुबाट शिवको मूर्ति निर्माण हुने प्रतिष्ठानले जनाएकाे छ ।
धातु संकलनका लागि चलाइएकाे अभियानबाट हालसम्म ७० क्विन्टल धातु र ३२ लाख सङ्कलन भइसकेको प्रतिष्ठानका महासचिव मदनदास मिश्रले जानकारी दिए ।

सरकारबाट ५० लाख सहयोग भए पनि अर्थ र धातुको अभाव भएको प्रतिष्ठानले जनाएकाे छ । देवघाटमा निर्माण हुन लागेको अष्टधातुको शिवमूर्ति, देशकाे पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । मूर्ति निर्माणका लागि हालसम्म २५ प्रतिशत काम सम्पन्न भइसकेकाे छ । आगामी तीन वर्ष भित्र निर्माण सक्ने प्रतिष्ठानकाे याेजना छ ।

Loading...