तरुण दलका सदस्य पुरीको हत्या

मुख्य समाचार समाज

रुपन्देही, २७ फागुन, सामान्य विवादले उग्ररुप लिदा रुपन्देही देवदहमा नेपाली कांग्रेको भातृ संगठन तरुण दलका नगर सदस्य अनिश पुरीको हत्या भएको प्रहरीले जनाएको छ । मेलाका विषयलाई लिएर सामान्य विवादले उग्ररुप लिएपछि युवाहरुको आक्रमणबाट देवदह वडा नम्बर ५ का तरुण दल नगर समितिका सदस्य २२ वर्षीय पुरीको हत्या भएको हो ।

आइतबार राती पौने ८ बजेतिर देवदह वडा नम्बर ९ घोडाहामा ढुंगा, रड र लाठीले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीले हत्या कुनै आपराधिक समूहबाट नभएको भन्दै आपसी विवादले उग्र रुप लिँदा भएको बताएको छ ।

तरुण दलका नगर सदस्य पुरीको हत्यामा संलग्न ६ जनालाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ । १० देखि १५ जना युवाको समूहले पुरी माथि सांघातिक आक्रमण गरेर हत्या गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी थापाले बताए । उनले भने ‘हामी केही बाहेक सबैजसोलाई पक्राउ गरिसक्यौं ।’

पुरी हत्यामा संलग्नको अभियोगमा देवदह ९ का २१ वर्षीय अर्जुन मगर, सोही ठाउँका २० वर्षीय सुभास अर्याल, २८ वर्षीय रमेश शाही, २१ वर्षीय आकाश थापा, २१ वर्षीय शिशिर राना र १९ वर्षीय मनोज क्षेत्रीलाई पक्राउ गरिएको छ । घटनामा संलग्नको आशंकामा अन्य व्यक्तिहरुलाई पनि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा राखेको छ ।

घटनाका मुख्य योजनाकार मानिएका देवदह ९ कै २१ वर्षीय सागर राना भने फरार रहेको रुपन्देही प्रहरीका प्रवत्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) धर्मराम भण्डारीले बताए । उनले घटनामा संलग्न अन्यको खोजी कार्य भइरहेको जानकारी दिए ।

प्रहरीले विवादका कारण हत्या भएको भने पनि कांग्रेस र तरुण दलले भने योजनाबद्ध रुपमा हत्या गरेको आरोप लगाएको छ । हत्याको विरोधमा सोमबार दिउँसो केही बेर पूर्व–पश्चिम राजमार्ग समेत अवरुद्ध गरिएको थियो ।

नेपाली कांग्रेसले पुरीको हत्यामा संलग्नलाई कडा कारवाहीको माग गरेको छ ।

Loading...