दिनेश सुनारद्वारा पार्करमा तेस्रोपटक विश्व रेकर्डको तयारी

खेलकुद मुख्य समाचार

काठमाडौं, २७ फागुन । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दुई पटकसम्म आफ्नो नाम दर्ता गराईसकेका नेपालकै पहिलो पार्कर खेलाडी दिनेश सुनारले तेस्रोपटक वल्र्ड रेकर्ड राख्न लागेको जानकारी गराएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा ‘नेपाल पार्कर एण्ड फ्रि–रनिङ एशोसिएशनले आयोजना गरेको ‘ह्याट्रिक गिनिज बुक अफ वल्र्ड रेकर्ड एटेम्ट–२०१९’ नामक पत्रकार सम्मेलनमा ‘मस्ट ट्विस्टिङ ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधामा तेस्रो पटक विश्व रेकर्डको ह्याट्रिक गर्न लागेका सुनारले ३० सेकेण्डमा ११ पटक गरेरै देखाएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अथितिको रुपमा रहेका पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको नाम गिनिज बुक अफ वल्र्डमा रेकर्ड राख्ने क्रम बढेको भन्दै खुसी व्यक्त गरे । पछिल्लो समय नेपाललाई चिनाउन आफ्नो प्रतिभा देखाउने नेपालीको संख्या एकपछि अर्को गरी बढिरहेको बताउँदै उनले नेपालीहरुमा प्रतिभाको कमी नभएको जिकिर गरे ।

आविष्कार र प्रतिभाको क्षेत्रबाट देशको नाम विश्वमा नै चिनाउने प्रतिभावान नेपालीप्रति गर्व रहेको उनको भनाई थियो । उनले वीर गोर्खालीहरुले इतिहासमा नेपालको नाम लेखाउन तथा नेपाली हुनुको ताकत देखाउन सफल भएको स्मरण गराए । ‘हामी नेपालीहरु अरुभन्दा कुनै कुरामा पनि पछाडि रहनु हुदैन’–उनले भने, ‘असम्भवलाई सम्भव बनाउने प्रतिभा जो कोही नेपालीहरुमा रहेको छ । यो कुरा नेपालीहरुले सावित गरेर देखाएका छन् ।’

त्यस्तै कार्यक्रममा हाँस्यकलाकार जितु नेपालले दिनेशले खेल जगतको माध्यमबाट देशको गौरव बढाएको भन्दै धन्यवाद दिए । आफूभित्र रहेको प्रतिभालाई विश्वमा नै चिनाउनेमा दिनेशजस्ता थुप्रै नेपालीहरु रहेको भन्दै उनले खुलेर प्रशंसा गरे ।

खोटाङ स्थायी घर भएका दिनेश सुनार करिव १५ वर्षदेखि निरन्तर पार्कर खेलको विकासमा लागेका छन् । खेल विकासमा लागेका दिनेशको एकमात्र चाहना भनेको पार्करलाई नेपालमा स्थापित गर्नु नै रहेको छ । जिम्न्यास्टिक हुँदै पार्करसम्म आईपुगेका उनले योभन्दा पहिला दुई वटा विद्यामा विश्व रेकर्ड राख्न सफल भइसकेका छन् । हाल करिब सात वर्षदेखि नेपाल सशस्त्र प्रहरी बल खेलकुद शाखामा जिम्न्यास्टिक खेलाडीको रुपमा कार्यरत उनी आफ्नो नशा–नशामा पार्कर रहेको बताउँछन् ।

सशस्त्रबाटै राष्ट्रियस्तरको जिम्न्यास्टिक खेलेका उनले स्वर्ण पदक पनि पाइसकेका छन् । । उनले आफूले सन् २०१७ मा एक मिनेटको समय सिमाभित्र ३६० डिग्रीको रोटेसनमा १८ पटक ‘द मस्ट ट्विस्टिङ ब्याक फ्लिप्स वाल इन’ गरेर पहिलो र २०१८ मा ३० सेकेन्डमा १६ पटक ‘ब्याक फ्ल्पि’ गरेर अर्काे रेकर्ड राख्न सफल भएको जानकारी दिए ।

नेपालमा पार्कर खेललाई स्थापित गर्नको लागि केही गरौं भन्ने उद्देश्यका साथ अमेरिकामा दुई महिनाको तालिम गरेर अनुमतिपत्र समेत पाउँदा आफूले त्यहाँ सिकाउने अवसर नपाएको उनले दुःखेसो पोखे ।

गत जनवरीमा मात्र अमेरिकामा भएको पार्कर प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै त्यहाँ पुगेका उनी बिभिन्न देशका ८० प्रतियोगिमध्ये ८ औ स्थानमा पुग्न सफल भएका थिए । ‘पार्कर फ्री रनिङ’ दिनेशको नामले परिचित उनले पार्कर विधामा नै रहेर विश्वमा सबैभन्दा बढि रेकर्ड बनाई आफ्नो देशको नाम विश्वसामु चिनाउने लक्ष्य रहेको सुनाए ।

Loading...