छोलिङ गुम्बाका मूर्ति चोर्ने दुई जना पक्राउ गरी सार्वजनिक

मुख्य समाचार समाज

सुर्खेत, २७ फागुन, पर्यटकीय महत्व बोकेको डोल्पाको शे फोक्सुण्डो गाउँपालिका ८ मा पर्ने रिग्मो गाउँमा रहेको थासुङ छोलिङ गुम्बाका बौद्व मूर्ति चोर्ने दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । थासुङ छोलिङ गुम्बाका मूर्तिहरु चोरीमा संलग्न रहेका शे फोक्सुण्डो गाउँपालिका ८ रिग्मो गाउँकै स्थानीय ४० वर्षीय छुल्डिम नामक्याल रोका र त्रिपुरासुन्दरी नगरपालिका ७ छलगाउँका ४० वर्षीय इन्द्रबहादुर रोकायालाई पत्रकार सम्मेलन मार्फत प्रहरीले सार्वजनिक गरेको हो ।

पर्यटकीय महत्व बोकेको फोक्सुण्डो तालसँगै रहेको प्राचीन ऐतिहासिक गुम्बाका ७ ओटा बुद्धका मूर्तिहरु ०७५ असार ६ गते चोरी गरेको अनुसन्धानमा खुलेको छ । थासुङ छोलिङ गुम्बाका बहुमूल्य प्राचीन बुद्धमूर्तिहरु परापूर्वकालदेखि नै गुम्बामा नराखेर मुख्य पुजारी लटई लामाको घरमा राखिदै आएका थिए । घर हेरचाह गर्ने मुख्य पुजारी लटइ लामाको दाई साङ्गे लामाका परिवार यार्सागुम्बा टिप्न वनमा गएको मौका छोपी चोरी गरेको अनुसन्धानमा खुलेको प्रहरी नायव उपरीक्षक अवदेश बिष्टले पत्रकार सम्मेलनमा बताए ।

गुम्बाका मुख्य पुजारी लटइ लामाले मूर्तिचोरी भएकोले खोजी गरी पाउँ भनि ०७५ असार ११ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको र गोप्य रुपमा अनुसन्धान गरी स्थानीयकै सहयोगमा स्थानीय छुल्डिम नामक्याल रोकालाई ०७५ फागुन १९ गते सदरमुकाम दुनै बजार र त्रिपुरासुन्दरी ७ का इन्द्रबहादुर रोकायालाई फागुन २० गते पक्राउ गर्न सफल भएको पनि प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिए ।

Loading...