‘महाकाव्य लेख्दैमा महाकवि भइन्न !’ – डिल्लीराज अर्याल

मुख्य समाचार साहित्य

मैले केही विद्वान् मित्रहरूले भन्ने गरेको- ‘वर्णन कविता होइन’ – ‘महाकाव्य लेख्दैमा महाकवि भइन्न’ जस्ता भनाइ सुन्ने गरेको छु । आखिर कुरोको चुरो के हो त? भनेर सोच्ने पनि गरेको छु । के वर्णन गरेर लेखिएका कविता कविता नबन्न, नभनिन मिल्छ ? सक्छ? के महाकाव्य लेखेर पनि महाकवि नहुन नबन्न मिल्छ ? यस्तै सोचमा परेर केही लेख्न लागेका बेला जब बिजुली चम्कन्छ, बिजुली जान्छ, मेरो मन बिथोलिन्छ र बिजुलीतिर केन्द्रित हुन्छु ।

सोच्छु – यो ‘बिजुली’ अर्थात् विद्युत्, संस्कृतले यसलाई तडित् पनि भन्छ । तडित् र त्वरित उस्तै लाग्छन्, संस्कृतमा तडित्को अर्थ बिजुली भए जस्तै त्वरित्को अर्थ छिटो हुन्छ । कतै तडित् त्यसैबाट प्रभावित त होइन ? छिटो आउने र छिटै जाने ।

गड्याङगुडुङ् गर्दै आकाश गर्जँदै गर्दा कसरी झिलिक्क आउँछ, संसारै उज्यालो गराउँछ र उत्तिखेरै हराउँछ ! आए, गएको हिसाब गर्नै नभ्याइने गरी आउँछ र गइहाल्छ । आउँदा आँखैले काम नगर्ला जस्तो गराइदिने बिजुलीको आयु देखेर दङ्ग पर्छु म । अरू पनि पर्दा हुन् तर सबैको कुरो बताउन गाह्रो हुन्छ, आफ्नो जस्तो सजिलो हुन्न । हुनत कतिपय कुरा अरूको बताउन सजिलो र आफ्नो चाहिँ गाह्रो पनि हुन्छ । यो बिजुलीको उज्यालोको प्रभाव भने त्यस्तो अलि होइन कि ! बिजुली पनि फरक फरक हिसाबले हेर्नुपर्ने हुन्छ । उता त्यो बिजुली, यता अर्को बिजुली छ हाम्रा गाउँघरमा, शहर बजारमा । छन त त्यो पनि यस्तै छिटो छ । आउने र जाने गरिरहन्छ । हाम्रा गाउँघरतिर ‘बिजुली’ को अर्थ ‘छिटी’ भन्ने पनि हुन्छ, सबै काम कुरामा ढिलो नगर्नेलाई ‘बिजुली’ भन्ने गरिन्छ । हामी पनि यही भन्थ्यौं र यस्तै बुझ्थ्यौँ तर यसको अर्थ र स्वरूप त भिन्न पनि हुने रहेछ । यो अहिलेको अनुभव हो, ज्ञान हो ।

हाम्रा गाउँ घरमा, शहरबजारमा बाल्ने बिजुलीको दर्शन दुर्लभ हुँदै गएपछि ‘बिजुली’ भन्ने अभ्यास पनि कम भएको हो कि ! यो मेरो अनुमान हो । म हनुमान होइन त्यसैले मसँग त्यस्तो भक्ति छैन तैपनि अनुमान गर्ने र बोल्ने शक्ति छ । त्यसको प्रयोग गरिहाल्छु ।

अँ त हामी कहाँ पनि बिजुली थियो, छ भन्ने सुनेको थिएँ । सुनेको यस अर्थमा कि कुलमान विद्युतको नायक बनाइनु अघिसम्म बिजुली आउन गाह्रो मान्थ्यो । आउनै गाह्रो मान्ने भएकाले देख्नै कठिन हुन्थ्यो अनि त्यसका कुरा सुन्ने बाहेक के हुनु ?

विद्युत् भनेको बिजुली हो भन्ने कुरा त माथिको भनाइमै आइसक्यो । कोठामा, घरमा, चोकमा बालिने त्यो बिजुलीको आधार विद्युत शक्ति हो । त्यो शक्ति बल्बमा प्रकट हुन्छ । बल्ब अडिन होल्डर, होल्डर अडिन भित्तो, पर्खाल वा काठ कुनै न कुनै आधार चाहिन्छ त्यस्तै हरेक बस्तुलाई अडिने आधार चाहिन्छ । त्यही आधारमा अडिएको बल्बले बिजुलीको स्वरूप देखाउँछ । बल्बमा बिजुली शक्ति आउँदा उज्यालो हुन्छ । एक अर्काका आधारमा त्यसको अनुभूति हुन्छ । कतै कविता-काव्यमा पनि त्यस्तै पो हुने गरेको हो कि? त्यो आधार चाहिने कुरा सूक्तिमा पनि लागू हुने हो कि !

विद्वान् मित्रहरूको तर्क ‘कविता वर्णन होइन, वर्णनमा कविता हुन्न’ मा म घोरिन्छु र मेरो सोचाइ बेग्लै भएको अनुभूति गर्छु । मलाई त्यो तर्कमा अलि अपुग भएको अनुभूति हुन्छ । म कवितामा सूक्ति आउन, महत्त्वपूर्ण अभिव्यक्ति आउन, ल्याउन वर्णन पनि आउँछ, चाहिन्छ भन्छु । वर्णन र सूक्ति दुवै कविताकै अङ्ग हुन्, कवितै हुन् भन्ने मान्छु । जसरी प्राण अडिन शरीर चाहिन्छ, बिजुली बल्न, उज्यालो पार्न बल्ब चाहिन्छ त्यसरी नै कवितामा सूक्ति अडिन वर्णन पनि चाहिन्छ । प्राण र शरीर दुवैको संयोजन भएर प्राणी हुन्छ । बल्ब र विद्युत् प्रवाहको संयोजन भएर उज्यालो आउँछ, प्रकाश देखिन्छ । हामी आफै पनि प्राण र शरीरको संयोजनमा बनेका हौँ । तिनलाई अलग्याउन सकिन्न, अलग्याउने हो भने हामी अथवा हाम्रो अस्तित्व रहन्न । त्यस्तै गरी वर्णन र सूक्ति हुन् जस्तो लाग्छ मलाई । बिजुली र बल्ब, मेघ र बिजुली, शरीर र प्राण जस्तै लाग्छन् मलाई कविता र भाव, शब्द र अर्थ, वर्णन र सूक्ति पनि ।

त्यसैले म यसरी बुझ्छु । बुझाइ फरक-फरक हुन सक्छन् । मान्यता, विश्वास फरक हुन सक्छन् तैपनि कतिपय कुरा एउटै हुन्छन् जसलाई बुझ्दै जाँदा बल्ल स्वीकार गरिन्छ ।

Loading...