‘बालप्रज्ञा’ प्रकाशित हुने

मुख्य समाचार साहित्य

काठमाडौँ, २७ फागुन, नेपाल प्रज्ञा–प्रतिष्ठानले बालसाहित्यसम्बन्धी पत्रिका प्रकाशन गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानको इतिहासमै पहिलो पटक ‘बालप्रज्ञा’ नामक अर्धवार्षिक साहित्यिक पत्रिका प्रकाशन गरिने भएको हो ।

प्राज्ञ परिषद्को बैठकको निर्णयअनुसार साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको संयोजनमा नयाँ वर्ष २०७६ वैशाखबाट ‘बालप्रज्ञा’ प्रकाशन हुने विभागीय प्रमुख प्राज्ञ डा. देवी नेपालले बताए । प्राज्ञ डा. नेपालका अनुसार अर्धवार्षिक बालपत्रिका ‘बालप्रज्ञा’को पहिलो अङ्कमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक एवम् प्रधानमन्त्री, संरक्षक संस्कृतिमन्त्री र कुलपतिको विशेष शुभकामनाका साथै राष्ट्रकवि माधव घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, बैरागी काइँला, मदनमणि दीक्षित, वासुदेव त्रिपाठी, चूडामणि बन्धु, शान्तदास मानन्धर, दुर्गालाल श्रेष्ठ, शैलेन्दुप्रकाश नेपाल आदिका संक्षिप्त शुभकामनाहरू राखिने छ ।

रङ्गीन कलेवरमा प्रकाशित हुने ‘बालप्रज्ञा’मा बालकविता, बालकथा, बालोपयोगी जीवनी, निबन्ध, प्रबन्ध, नियात्रा, बालनाटक र एकाङ्की, बालसमीक्षा, विधागत सिद्धान्त र विविध सामग्रीहरू समावेश गरिने प्रधान सम्पादक प्राज्ञ डा. नेपालले बताए । पत्रिकाको सम्पादक समूहमा नवराज रिजाल, गोपीकृष्ण ढुङ्गाना, देवु लुईंटेल र कार्यकारी सम्पादकमा डा. ध्रुव घिमिरे रहेका छन् ।

Loading...