लोकदोहोरी प्रतियोगिताको उपाधि नगरकोटका राजु केसीलाई

आजको म्यूजिक मुख्य समाचार

बुटवल, २६ फागुन, बुटवलमा सञ्चालित पाँचौ अर्ना राष्ट्रिय खुल्ला रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिताको उपाधि नगरकोटका राजु केसीले जितेका छन् । नगरकोटकै रवीन लामिछानेसँग भएको प्रतिस्पर्धामा उनले रवीनलाई पछि पार्दै उपाधि जितेका हुन् ।

उपाधिसँगै राजुले दुई लाख नगद, प्रमाणपत्र र शिल्ड प्राप्त गरेका छन् भने द्वितीय बनेका रवीनले एक लाख बिस हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै नगरकोटकै प्रकाश पराजुली र रोल्पा कलाकार समाजका भीम पौडेलले तृतीय स्थान हासिल गरेका छन् । उपाधीसँगै उनीहरुले ५२ हजार ५ सय रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजेता गायक राजु केसी शिल्ड र पुरस्कारको साथमा तस्विर खिचाउँदै

प्रतियोगितामा प्रतिष्ठान गण्डकी प्रदेशका जीवन सिग्देल र डालिमा दोहोरी साँझकी देवी आले सर्वोत्कृष्ट गायक गायिका हुन सफल भएका छन् । उनीहरुले नगद रु १५/१५ हजार प्राप्त गरेका छन् ।

त्यस्तै प्रतियोगितामा गामवेशी दोहोरी साँझ काठमाण्डौंका अर्जुन खड्का, काठमाण्डौंकै प्रकाश दुरा, धादिङकी अस्मिता डि.सी. र सिन्धुुपाल्चोककी कल्पना दाहाल उत्कृष्ट गायक गायिका भएका छन् ।
उनीहरुले जनही नगद रु ७ हजार पाँच सय रुपैया प्राप्त गरेका छन् । त्यस्तै प्रतिष्ठान रुपन्देहीका विक्रमबाबु विश्वकर्मा, प्रतिष्ठान गुल्मीका उज्जवल गिरी, शर्मिला वि.सी.ले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।

विजेताहरुलाई सामाजिक विकास मन्त्री सुदर्शन बरालले पुरस्कार र सम्मान पत्रद्वारा सम्मान गरे । बुटवल मण्डपमा फागुन १९ देखि एक सातासम्म दोहोरी प्रतियोगिता भएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिको आयोजना तथा जिल्ला कार्यसमिति रुपन्देहीको सहआयोजना गरेको हो ।