भारतीय प्रहरी हतियारसहित आए रक्सी खाए, गए, नेपालको प्रशासन भने बेखबर

ट्राफिक/प्रहरी मुख्य समाचार

सप्तरी, २६ फागुन, भारतको विहार राज्य सरकार अन्तर्गतका विहार पुलिसको सवईन्सपेक्टरसहित १० जना प्रहरी विहार पुलिसको वर्दी र केही साना हतियारसहित सप्तरी सदरमुकाम राजविराज स्थित एक होटेलमा घण्टौं बसेर रक्सी सेवन गरी फर्केका छन् । तर जिल्ला प्रहरी कार्यालय सप्तरी भने बेखवर रहेको छ ।

गएको शनिबार राजविराज स्थित जिल्ला प्रहरी कार्यालयको सय मिटर टाढा मुख्य सडक छेउमै रहेको एक रेस्टुरेन्टमा भारतीय सीमावर्ती जिल्ला सुपौलको मरौना थानाको गाडी नै लिएर उनीहरु राजविराज छिरेका थिए । सदरमुकामको मुख्य सडक छेउमा उक्त गाडी घण्टौ पार्किङ्ग गरेर राखिएको थियो । गाडीमा विहार पुलिसको बर्दी लगाएका सवइन्सपेक्टर सुनिलकुमारसहित ८ जना प्रहरी बर्दीमा रहेका थिए भने दुई जना सामान्य पोशाकमा रहेका थिए । सादा पोशाकमा रहेकाहरुसँग कम्मरमा सानो पेस्तोलसमेत थियो ।

रक्सी खाएको होटलमा पत्रकार पुगेपछि बि आर ५०पी ३९३६ नम्बरको लाईट सिल्भर कलरको टाटा सुमो गोल्ड गाडीमा बसेर उनीहरु त्यहाँबाट हतार हतार भागेका थिए । गाडी अगाडी विहार पुलिसको ठुलो लोगो रहेको थियो भने गाडीको चारै तिर ‘सुपौल पुलिस’, ‘मरौना थाना’ लेखिएको थियो ।

घटना लगत्तै सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टलाई फोनमार्फत सम्पर्क गर्दा यसबारे आफूलाई केही पनि जानकारी नरहेको प्रतिक्रिया दिए । ‘बर्दी लगाएर कहिले काही हामी पनि पारी जाने गरेका छौ’, एसपी विष्टले भने, ‘बर्दी लगाएर हाम्रो तिर आउन पाइन्छ तर हतियारसहित नेपाल प्रवेश गर्न पाइदैन ।’

नागरिक समाजका अगुवा बद्री नारायण झा यस घटनालाई फरक फरक कोणबाट हेर्छन् । यो विषयमा नेपालको प्रशासन संवेदनशील हुने पर्ने उनको सुझाव छ । यो विषय सुरक्षा संवेदनशीलताको विषय भए पनि नेपालको प्रशासन भने बेखबर छ । उताका प्रहरीहरु निर्वाध रुपमा हतियारसहित नेपाल प्रवेश गरी मदिरा सेवन गर्न सीमाकै प्रहरी अधिकारीहरुको अनुमति त होइन यो आशंकाको विषय भएको जानकारहरु बताउँछन् ।

Loading...