पाथिभरा क्षेत्रमा मदिरा बिक्री–वितरण बन्द

कला/संस्कृति मुख्य समाचार

विराटनगर, २६ फागुन, प्रसिद्ध तीर्थस्थल ताप्लेजुङको पाथिभरा क्षेत्रमा आगामी चैत्र १ गतेदेखि मदिरा बिक्री–वितरण निषेध गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा आईतबार बसेको सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको हो ।

चैत्र १ गतेदेखि भालुगौंडे, काफ्लेपाटी, तल्लो फेदी, माथिल्लो फेदी लगायतका क्षेत्रमा मदिरा बिक्री वितरण गर्न नपाईने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए । उनका अनुसार निषेध गरिएको क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री गरेको पाइए प्रशासनले नियन्त्रणमा लिने छ ।

सवारी साधनमा पाथिभराको भजन, मूर्ति र स्टिकर अनिवार्य

यसैबीच पाथिभरा क्षेत्रमा चल्ने सवारी साधनमा पाथिभराको भजन, मूर्ति र स्टिकर अनिवार्य गरिने भएको छ । फागनु ३० गतेदेखि प्रदेश नं १ का सवारी चालक तथा सहचालकलाई पोशाकको अनिवार्य गर्ने अभियानको उद्घाटनकै अवसरमा भजन, मूर्ति र स्टिकर अनिवार्य गर्न लागिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । चैत्र १ गतेपछि सवारी चालकहरुले अनिवार्य पाथिभराको भजन गाडीमा बजाउनु पर्नेछ । यसका साथै पाथिभराको सानो मूर्ति र स्टिकर पनि सवारी साधनमा राख्नुपर्ने गरी यातायात व्यवसायीहरुसँग पनि सहमति भएको प्रनाउ थापाले बताए ।

सवारी साधनमा बजाउने भजन सहितको पेनड्राइभ भने पाथिभरा क्षेत्र विकास समितिले प्रदान गर्नेछ । जसका लागि सवारी चालकहरुले सवारी साधनको ब्लु–बुकको प्रतिलिपिका साथ फागुन ३० गते गरिने कार्यक्रममा सम्पर्क गर्नुपर्ने पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक उदय भट्टराईले जानकारी दिए । ताप्लेजुङमा सञ्चालित होटलहरुमा पनि पाथिभराको भजन र मूर्ति अनिवार्य गरिएको बताईएको छ ।