कालिकोटमा १२ वर्षीया बालिकासहित ३८ जना एचआइभी संक्रमित

मुख्य समाचार स्वास्थ्य

सुर्खेत, २५ फागुन, जिल्ला अस्पताल कालिकोटले सार्वजनिक गरेको तथ्याङ्कका आधारमा हाल ३८ जना एचआइभी संक्रमित छन् । एचआइभी संक्रमित ३८ जना मध्ये पुरुष १५ जना र महिला २२ जना रहेका छन् । जसमा एआरटी सेवा नलिने २ महिला र १ जना १२ वर्षीया बालिका रहेका छन् ।

जिल्ला अस्पतालमा रहेको एआरटी सेवाबाट ३५ जनाले नियमित सेवा लिने गरेको अस्पतालले जनाएको छ । १ जनाको एचआईभीका कारण मृत्यु भइसकेको अस्पताल स्रोतले बताएको छ । जिल्ला अस्पताल कालिकोटसहित बिभिन्न स्वास्थ्य संस्थाहरुले जिल्लामा सचेतनामुलक विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

संक्रमितका लागि जिल्ला अस्पताल कालिकोटमा निःशुल्क एआरटी सेवा उपलब्ध छ । जिल्ला अस्पतालबाट ३४ जनाले सेवा लिइरहेका छन् । जिल्लाका हरेक स्वास्थ्य संस्थाहरुमा आमाबाट बच्चामा एचआईभी संक्रमण रोक्नका लागि एचआईभी जाँच सेवा उपलब्ध गराइएको सिनियर अहेव हेमराज बमले बताए । तत्कालिन अवस्थामा भयावह देखिएको एचआईभी संक्रमणको अवस्था त्यही अनुपातमा बृद्धि नभएर स्थिर रहनुमा जनचेतनाको कारण जोखिममा रहेकाहरुले पनि सजगता अपनाउनु गरेको स्वास्थ्यकर्मीले बताए ।

जिल्लाको नरहरीनाथ गाउँपालिकामा एचआईभी संक्रमितको संख्या बढी रहेको छ । नरहरीनाथ गाउँपालिकाको लालुमा मात्र १७ जना एचआईभी संक्रमित रहेको अहेव बमले बताए । उनले भने, ‘अन्य स्थानीय तहको तुलनामा नरहरिनाथ गाउँपालिकाको लालुमा संक्रमितको संख्या बढेको छ ।’ पछिल्लो समय नेपालमा ३२ हजार ७ सय ३५ जना संक्रमित रहेको अस्पतालले जनाएको छ ।

हालसम्म नेपालमा १ हजार ७ सय ७१ जनाको मृत्यू भइसकेको छ । असुरक्षित यौनसम्पर्कका कारण एचआईभी एड्स लाग्ने गरेको सिअहेव दीपबहादुर रावलले बताए । उनले भने, ‘एचआईभी संक्रमितमा सबैभन्दा बढी क्षयरोगले संक्रमण गर्ने भएकाले सबैले सचेतना अपनाउनुपर्ने छ ।’

Loading...