एकै सातामा २३ जना पक्राउ

ट्राफिक/प्रहरी मुख्य समाचार

बुटवल, २५ फागुन, रुपन्देही जिल्ला प्रहरी कार्यालयले साताभरिमा विभिन्न अपराधमा संलग्न २३ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । भैरहवाको बाल सुधार गृहबाट फरार भएका ६ जना कैदीमध्ये ३ जनालाई पक्राउ गरिसकेको प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जवरजस्ती करणीमा सजाय पाएका परिवर्तित नाम ५० वर्षीय छपिया (क) रहेको रुपन्देही प्रहरी प्रमुख एसपी ह्ृदय थापाले बताए । उनलाई रुपन्देहीकै देवदह क्षेत्रबाट पक्राउ गरिएको हो ।

फरार ६ जना मध्ये नेपाल फर्केका ३ जनालाई प्रहरीले गत साता पक्राउ गरी सार्वजनिक गरेको थियो । पक्राउ परेकालाई बाल सुधार गृहमा पठाइएको र कारागार ऐन अन्र्तगत उनीहरुलाई थप कारवाहीको लागि प्रक्रिया अघि बढाइएकोले एसपी थापाले बताए ।

त्यस्तै रुपन्देहीको देवदह नगरपालिकाबाट प्रहरीले भरुवा बन्दुकसहित सुनवल बस्ने ३४ वर्षीय मान बहादुरलाई पक्राउ गरेको छ भने तिलोत्तमा नगरपालिका कान्छीबजार स्थित मोबाइल पसल चोरीमा संलग्न ७ जना, मायादेवी र बुटवलमा चोरी गर्ने २ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यस्तै प्रहरीले जिल्लाको विभिन्न ठाँउबाट ३ जनालाई ६८१ एमपुल लागु औषधसहित पक्राउ गरेको छ ।

यसैगरी बुटवल उपमहानगरपालिका वडा नं. १४ स्थित यम बहादुर विकको घरकोठामा जुवा तास खेलिरहेको अवस्थामा आठ जनालाई करिब ७० हजार नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Loading...